परदेशमा कोरोना सङ्क्रमित हुँदा, अनुभवसँगै भोगाइ


बुकारेस्ट – मार्चको मध्यतिर युरोपमा सक्रमन फैलिए सँगै रोमानियामा अत्यावश्यक बाहेक क्षेत्र बन्द थिए । त्यसैले मैले काम गर्ने क्षेत्र रेस्टुरेन्ट भएको कारणले ३ महिनाको लागि बन्द थियो । र काम गर्ने सबैलाई कोठामा मात्र बस्न र घर बाहिर नजानु भनिएकोले हामी निकै सजगताका साथ कोठामै बस्यौ । केही महिना त हामी निकै डरायौ र घरबाट बाहिर निस्कनै सकेनौ तर लामो समय बस्दा त्यही माथि विदेशमा काम गर्न, सँगै पैसा कमाउन आएकोले हामीलाई कोठामा बस्नु निकै कष्टकर थियो । २ महिना हुँदा समेत कोरोनाको कारण होटेल रेस्टुरेन्ट अझै लामो समय खुल्ने अवस्था नभएपछि हामीले अर्कै कम्पनीमा पार्ट टाइम काम गर्न व्यवस्था मिलायौ। रोमानिया धेरै क्षेत्र बन्द रहेको र धेरै मानिसहरू रोजगार विहीन भइरहेको अवस्थामा हामीले पार्ट टाइम मात्र भएपनी काम पायौ र सबै सुरक्षाका उपायहरू अपनाउँदै काम गर्न थाल्यौँ । काम गर्ने सबैले भौतिक दूरी कायम गर्ने अवस्था नभएपनी पनि मास्क, पन्जा, स्यानिटाइजर प्रयोग अनिवार्य गरिएकोले सुरक्षित महसुसका साथ काम गरिरहेकै थिए ।

सेप्टेम्बर महिनाबाट रोमानियामा सुरुको अवस्था भन्दा निकै सक्रमितहरु देखिन थाले । डर भने पटक्कै थिएन, पछिल्लो समय मैले कोरोनालाई सामान्य रूपमा बुझ्न थालेको थिए । सामान्यतया युवा उमेरकालाई यसले केही असर गर्दैन भन्थे । मैले मात्र नभएर अधिकांशले मैले भन्दा पनि सामान्य रूपमा बुझ्दथे । त्यसैले होला पछिल्लो समय स्वास्थ्य सावधानीमा खासै ध्यान गएको थिएन । मास्क मात्र लगाउँथे त्यो पनि अधिकांश समय मुखमा मात्र ।

अक्टोबर महिनाको 11 तारिखको दिन दिउँसो शरीरमा अलिकति असहज भएको महसुस गरे । बेलुका खाना बनाए र अरू बेला जस्तै समयमा नै सुते । सुत्नु भन्दा अघि क्याप्टेन विजय लामाको कोरोनाको अनुभव सम्बन्धी एउटा अन्तर्वार्ता हेरे, हेर्दा हेर्दै निदाएछु पत्तै भएन । राती केही डराएको जस्तो महसुस भयो ।

डिउटी बिहान भएकोले ६:३० मा नै उठे । बेडबाट उठ्नासाथ शरीर भारी अनि घाँटी दुखे जस्तो महसुस भयो र पनि  काममा गए । कम्पनी भित्र जाने बेला सम्म मेरो शरीरमा सिथिलता आइसकेको थियो । अप्ठेरो महसुस भएता पनि काम गर्न थाले । लगभग बिहान १० बजे तिर म एकदम काम्न थाले, ज्याकेट लगाएको भएता पनि १५ मिनेट जति धेरै कामे अनि शरीरका सबै भागमा तातेको अनुभव भयो सँगै हलुका ज्वरो पनि । दिउँसो १ बजे खाना खाने ब्रेक थियो । ब्रेक समयमा सबै डिपार्टमा काम गर्ने नेपालीहरूको भेट हुन्थ्यो । त्यहाँ म मात्र नभएर ५ जना नेपाली साथीहरूलाई पनि ज्वरो आएको रहेछ । लगभग उस्तै लक्षण सहित । त्यसपछि मनमा अलिकति डर भयो र यो अवस्थामा काम गर्नुहुँदैन भनेर हाम्रो स्वास्थ्य अवस्था बारे हामीले कम्पनीको सम्बन्धित निकायमा जानकारी गरायौ । हाम्रो सामान्य स्वास्थ्य जाँच गरियो  । कोरोना सँग मिल्दोजुल्दो लक्षण भएकोले तुरुन्तै Rapid test गराइयो । परीक्षणमा सामान्य नै देखियो र आरामको लागि भनी केही दिन बिदा दिइयो ।

म प्राय बिरामी भई रहने भएकोले मैले आफ्नो स्वास्थ्यलाई सामान्य प्रक्रियाको रूपमा सोचिरहेको थिए । हलुका ज्वरो मात्र भएकोले बेलुका खाना खाएर नेपालबाट ल्याएको एउटा सिटामोल खाएर सुते । रातभर नै ज्वरो सँगै पसिना आयो । भोलिपल्ट बिहान ब्युँझिदा अघिल्लो दिन भन्दा झन् असहज भयो । बिहान उठ्नै सकिन, ज्यान एकदम भारी भएर आयो । लगातार २, ३  ग्लास तातो पानी खाएर दिनभरि सुते । त्यसपछि अत्यधिक नुन, बेसार, जिरा, ज्वानो पानीको सेवन गर्न थाले । शरीरमा शिथिलता आलस्यपनले केही गर्ने जागर थिएन । ३ दिन सम्म दिनभर सहज हुने र रातिको समयमा ज्वरो र अत्यधिक पसिना आयो । ४ दिन पछि ज्वरो ठिक भएको महसुस गरेता पनि सुख्खा खोकी र हलुका रुखा लाग्यो । सुख्खा खोकी र ज्वरोको केही औषधि मेडिकलबाट मगाएर खाए ।  नियमित औषधि सेवन पछि ज्वरो रुघाखोकी ठिक भएता पनि शरीरमा यति शिथिलता आयो कि मलाई हिँड्न नै गाह्रो भैसकेको थियो । त्यति बेला सम्म मैले स्वाद थाहा पाउन छाडिसकेको थिए । त्यसपछि मलाई अलि डर हुन थाल्यो र कम्पनीमा आफ्नो अवस्थाबारे जानकारी गराएपछि  पिसिआर टेस्ट गराए । त्यति बेला सम्म मेरो स्वास्थ्यमा आएका समस्याहरू कम हुँदै गएको महसुल  भइसकेकोले मलाई रिपोर्ट नेगेटिभ आउँछ भन्नेमा ढुक्क थिए । तर मेरो ढुक्कता धेरै समय टिक्न सकेन । परीक्षण गरेको झन्डै ३० घण्टापछि इमेल मार्फत रिपोर्ट प्राप्त गरे । जुन परीक्षणमा कोभिड पोजेटिभ देखियो । रिपोर्ट आउनु अघि सम्म म साथीहरू सँगै थिए । पोजेटिभ देखिए सँगै तुरुन्तै छुट्टै आइसोलेसनको व्यवस्था गरियो र आइसोलेसनमा बस्न थाले ।

सुरुमा अलि बेस्सरी आत्तिए । केही भई हालेमा के गर्ने ? अस्पताल जानुपर्ने अवस्था आएमा कसरी व्यवस्थापन गर्ने भन्ने मनमा प्रश्न उठ्यो । रोमानियामा लामो समय देखि रहनु भएका अवैतनिक वाणिज्यदुत नवराज पोखरेलसँग स्वास्थ्य अवस्था बारे कुराकानी गरे र कुनैपनि बेला समस्या देखिए जानकारी दिन भन्नुभयो । रोमानियामा रहनु भएका साथीभाइ र नेपालमा रहनु भएका परिवार, आफन्तहरूलाई पनि कोभिड भएको बारे जानकारी गराए र आइसोलेसनमा बस्न सुरु गरे ।

२५ दिन आइसोलेसनमा बस्दा

सङ्क्रमित भएको पुष्टि हुने बेला सम्म मेरो स्वास्थ्यमा निकै सुधार आइसकेको थियो । तर पनि सङ्क्रमित भएपछि सुरुमा अलि चिन्ता आफू विदेशी भूमिमा हुनुले भइरहेको थियो । तर नेपाली साथीभाइहरू सँग विभिन्न माध्यमबाट नियमित गफगाफ हुँदा त्यस्ता कुराहरू भुलिदा रहेछन् । आइसोलेसन बसाइका बखत नियमित तातो पानी, त्यो पनि तात्तातै पिएँ, साथमा केही औषधिहरू (भिटामिन सि, ज्वरो र थकान कम हुने औषधिहरू) नियमित सेवन गरेँ ।

आइसोलेसनमा बस्दा समय बिताउन मेरा लागि निकै कष्टकर थियो । कोठामा एउटा झ्याल र ढोका मात्र थिए । ढोकाबाट बाहिर ननिस्कन र नजान भनिएकोले सुरुकै दिनबाट यति लामो समय कसरी बिताउने होला भन्ने प्रश्नले मनमा घोचिरहन्थ्यो । मेरा लागि चाहिने सबै आवश्यक सामाग्रीहरू मेरा ढोकामा आइपुग्थ्यो । बाहिरी वातावरण देख्नलाई झ्यालबाट टाउको निकाल्थे र केही समय हावा लिन्थे । बाहिरको चिसो हावा प्रत्यक्ष टाउकोमा आउँदा आनन्द महसुस हुन्थ्यो । अधिकांश समय मोबाइल चलाउँथे किनकि त्यो बाध्यता थियो । बिहान बेलुका शारीरिक व्यायाम गर्थे र केही समय टिभी पनि हेर्थे । धेरै समय मोबाइल चलाउँदा टाउको भारी हुन्थ्यो, छ्टपट्टी अनि रिस उठ्थ्यो र कति पटक बिना कारण आवेगमा आउँथे । कति समय अरूको फोन वा म्यासेज आउँदा रिस उठ्थ्यो, झर्को लाग्थ्यो । लामो समय त्यसरी बस्दा अहिले पनि कहिलेकाहीँ दिमाग नियन्त्रण बाहिर गएको जस्तो महसुस हुन्छ । धेरै नकारात्मक कुराहरूले मनमा आउँदा मन निकै अस्थिर हुँदो रहेछ । २५ दिन सम्म एउटा कोठामा थुनिएर बस्दा अवस्था कस्तो भयो होला अहिले सम्झँदा नै झसङ्ग हुन्छु । दिमाग र सोच्ने शक्ति पुरै गुमेको जस्तो हुन्थ्यो र टाउको भित्तामा लगेर ठोक्दा आनन्द महसुस हुन्थ्यो कयौँ पटक आफलाइ पागल भैसकेको झैँ लाग्थ्यो । आइसोलेसनमा शारीरिक भन्दा पनि मानसिक समस्या बढी भइदियो किनकि म एउटा बन्द कोठामा थिए जहाँ मेरो मोबाइल र म मात्र । अहिले सोच्छु की मान्छेमा देखिने शारीरिक समस्या भन्दा मानसिक समस्या हजारौँ गुणा खतरनाक हुदोरहेछ ।  त्यसैले आइसोलेसनमा बस्दा दिमागमा धेरै कुराहरू खेल्ने भएकोले आफ्नो दिमागलाई नियन्त्रणमा राख्नुपर्ने रहेछ यस्तो समयमा दिमाग धेरै चलाउने, जे पायो त्यही सोच्ने बानी गर्नु हुँदैन।  आफ्नो दिमागलाई एकदमै नियन्त्रणमा राख्नुपर्ने रहेछ । कोरोना सङ्क्रमितहरू बन्द कोठामा हुँदा उनीहरूले आफू स्वस्थ, सुरक्षित महसुस कहिल्यै गर्न सक्दैनन् त्यसैले अहिले निर्माण भएका आइसोलेसन र बस्ने विधि प्रक्रिया गलत छन् ।

अन्त्यमा,

यो भाइरस कसैले चाहेर हुने हैन र यो दैनिक जीवनशैली अपनाउने क्रममा आकस्मिक रूपमा देखा पर्ने गर्छ भन्ने सचेतना अभिवृद्धि गर्न आवश्यक छ । पछिल्लो समय केही मानिसहरूमा यो रोग केही पनि होइन भन्ने बुझाइ छ तर त्यो गलत हो । केही छ र त आज विश्व त्रसित छ । यो रोगको बारे परिवार, छिमेकी र समाजलाई हामीले भन्नू पर्छ कि यो रोग जति सामान्य छ त्यो भन्दा बढी घातक पनि छ । यो रोगबाट डराउने भन्दा पनि यसमा अति नै  सजगता अपनाउन आवश्यक छ ।

शारीरिक दुरी कायम गरौँ आफुपनी बचौँ अरुलाइ पनि बचाउ ।