सचिवालय बैठक बोलाएकै समयमा प्रधानमन्‍त्रीले डाके मन्त्रिपरिषद् बैठक


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित सचिवालय बैठककै समयमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन्।

एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले बुधबार दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

मंगलबार मात्र ओलीले सचिवालय बैठक सार्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष सन्देश पठाएका थिए। प्रचण्डले उक्त सन्देश अस्वीकार गरेपछि ओलीले सोही समयमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

कार्यकारी अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीका कामप्रति असन्तुष्टि व्यक्ति गर्दै कात्तिक २८ गतेको सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको छ।

२८ गतेको बैठकले ओली र प्रचण्डबीच आदानप्रदान भएका पत्र र प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन अध्ययनका लागि सचिवालय सदस्यलाई बाँडेर आज दिउँसो १ बजेका लागि बैठक बोलाउने निर्णय गरेको थियो।