दैलेखमा नवजात शिशुसहित सुत्केरीको मृत्यु


कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दैलेखको नारायण नगरपालिका- ११ की १८ वर्षीया सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ । शल्यक्रिया गरेर बच्चा जन्माएकी दीपा बिक र उनको नवजात शिशुको मृत्यु भएको हो ।

दैलेखको भगवतीमाई गाउँपालिका- २ स्थित माइतीको घरमा आँगनबाट लडेपछि उपचारका लागि दैलेख अस्पताल लगिएको दीपाका श्रीमान् खड्क बिकले बताए । ‘गर्भवती भएका कारण दैलेख उपचार हुन सक्दैन भनेर चिकित्सकले प्रदेश अस्पतालमा रिफर गरेका हुन्,’ उनले भने, ‘प्रदेश अस्पतालमा शल्यक्रिया गरेर शिशु जन्मिएको थियो ।’

कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि ल्याउँदा उनी बेहोस रहेको अस्पतालका मातृ-शिशु स्वास्थ्य सेवा प्रमुख कल्पना थापाले बताइन् । ‘बुधबार बिहान ७ बजे प्रदेश अस्पताल पुर्‍याइएको थियो,’ उनले भनिन्, ‘बिरामीलाई यहाँ पुर्‍याउँदा नै अचेत अवस्था थियो, उहाँलाई कृतिम स्वासप्रश्वास दिएर भेन्टिलेटरमा राखिएको त्यही सुत्केरी गराइएको हो ।’

कर्णाली प्रदेश अस्पतालका अनुसार बच्चाको पेट भित्र नै मृत्यु भइसकेको र उनको सुत्केरी दिन कात्तिक १५ रहेको थियो ।