कालीकोटको पिलीलाई युद्ध पर्यटकीयस्थल बनाउने अभियानमा स्थानीय


कालीकोटको खाँडाचक्र नगरपालिका–७ मा पर्ने पिलीलाई युद्ध पर्यटन क्षेत्रका रूपमा विकास गर्न लागिएको छ । खाँडाचक्र नगरपालिकामा पर्ने साविकको दाहाँ गाविसस्थित पिलीलाई युद्ध पर्यटकीयस्थल बनाउन स्थानीयले अभियान थालेका हुन् ।

जनयुद्धको बेला तत्कालीन माओवादी र शाही सेनाबीच अन्तिम भिडन्त भएको ठाउँ पिलीलाई युद्ध पर्यटकीय क्षेत्रका रूपमा स्थानीयले विकास गर्न लागेका हुन् । माओवादीले २०५२ सालबाट थालेको सशस्त्र द्वन्द्वका बेला अन्तिम तथा सबैभन्दा बढी मानवीय क्षति भएको पिली गाउँलाई युद्ध पर्यटनका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

२३ साउन २०६२ मा माओवादी र सेनाको दोहोरो भिडन्तमा १ सय ३ जनाको ज्यान गएको पिली गाउँलाई युद्ध पर्यटकीयस्थलका रूपमा विकास गर्ने लक्ष्य लिइएको स्थानीय मानबहादुर मल्लले बताए ।

‘माओवादी र तत्कालीन शाही सेनाको सबैभन्दा ठूलो युद्ध यहीँ भएको हो,’ उनले भने, ‘सबैभन्दा बढी मानवीय क्षति भएको यस ठाउँलाई हामी युद्ध पर्यटन क्षेत्रका रूपमा विकास गर्न खोज्दै छौँ ।’

कर्णाली राजमार्गहुँदै जुम्ला र मुगुको राराताल घुम्न जाने बीच बाटोमा नै पर्ने पिलीमा गाडी रोकेर पर्यटकले माओवादी र सेनाबीचको भिडन्त भएको स्थानको अवलोकन गर्न सक्ने जिल्ला समन्वय समितिका सदस्य अनिल मल्लले बताए । सबैले चासो राख्ने भएको कारणले पिलीलाई युद्ध पर्यटकीयस्थलका रूपमा विकास गर्न लागिएको मल्लले बताए ।

‘माओवादी जनयुद्धका बेला राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चर्चामा आएको पिलीलाई सधैँभर चिनाउन र युद्धको अवशेष देखाउन तथा स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले पर्यटकीय गाउँका रूपमा विकास गर्ने योजना छ,’ उनले भने, ‘युद्ध पर्यटकीयस्थल र लडाइँ भएकाे ठाउँमा भग्नावशेष र लडाइँमा प्रयोग भएका बङ्करको संरक्षण गर्ने तयारी थालिएको छ । लडाइँमा प्रयोग भएका हतियारसमेत संकलन गर्ने तयारी गरेका छौँ ।’

पिली भिडन्तमा माओवादी र सेनाका गरी १०३ जनाले ज्यान गुमाएका थिए । त्यो भिडन्तमा माओवादीबाट १३ श्रमिक र ६२ सेना गरी ७५ जनाको सम्झनामा स्मारकसमेत बनाइएको छ । तर २८ जना माओवादी लडाकु मारिएको बताएको भए पनि त्यसबारे उल्लेख गरिएको छैन ।

दुवै पक्षका कमान्डरसहित युद्धमा ज्यान गुमाएका सबैको सालिक बनाउने, प्रयोग भएका हतियार, उपकरण संकलन गरेर म्युजियम बनाउनेलगायतका योजना रहेको पिली युद्ध पर्यटनका अध्यक्ष पुत्रबहादुर मल्लले बताए ।

‘कर्णाली राजमार्ग निर्माण क्रममा वैशाख २०६२ मा राखिएको तत्कालीन शाही नेपाली सेनाको सडक निर्माण कार्यदलको क्याम्पमा आक्रमण भएको थियो । पिली भिडन्तमा मारिनेको तस्वीर, प्रयोग भएका हतियार र उपकरण संकलन गरेर म्युजियम बनाउने लक्ष्य लिएका छौँ,’ उनले भने ।

गाउँमा बालश्रमिकमुक्त होटल

पिली गाउँलाई पर्यटन क्षेत्रका रूपमा विकास गर्न थालिएपछि गाउँमा रहेको सबै होटललाई बाल श्रमिकमुक्त होटल बनाइएको छ । पर्यटन क्षेत्रको रूपमा विकास हुन थालेपछि होटल व्यवसायीले बाल श्रमिकमुक्त होटलको विकास गरेका हुन् ।

होटलमा बास बस्न देश तथा विदेशबाट पर्यटक आउन थालेपछि आफूलाई बालश्रमिक राख्न अप्ठ्यारो लागेपछि बालश्रमिकमुक्त होटलको अवधारणा ल्याएको स्थानीय होटल व्यवसायी धनबहादुर कार्कीले बताए । ‘पर्यटन क्षेत्रको रूपमा विकास हुँदै गएको छ,’ उनले भने, ‘बालश्रमिक राख्नु गैरकानुनी हो । त्यसैले बालश्रमिकमुक्त होटलको व्यवस्था गरेका हौँ ।’

पिलीमा अहिले कसैको होटलमा पनि बालश्रमिक नरहेको र बालश्रमिक राखेको होटल पनि संचालन गर्न नदिने नियम बनाइएको होटल संचालक नरबहादुर मल्लले बताए । ‘कसैले पनि बालश्रमिक काम लगाउन पाइँदैन्,’ उनले भने, ‘होटलमा कसैले बालश्रमिक राखे हामीले गैरकानुनी नियमविपरीत मान्दै आएका छौँ ।’

पर्यटकलाई लक्षित गर्दै होमस्टे

पिली गाउँमा पर्यटकलाई लक्षित गर्दै स्थानीयले होमस्टे पनि संचालन गरेका छन् । गाउँमा पर्यटकलाई लक्षित गर्दै होमस्टे संचालन गर्न थालेको होमस्टे व्यवसायी भरतबहादुर मल्लले बताए । ‘गाउँमा पर्यटक आउने दर बढ्दै गएको छ,’ उनले भने, ‘पर्यटक पारिवारिक वातावरणमा बस्न रुचाउने भएकाले होमस्टे संचालनमा गरेका हौँ ।’

होमस्टेबाट स्थानीयले राम्रो आम्दानी र स्थानीय संस्कृतिको पनि प्रचारप्रसार हुँदै जाने भएकाले स्थानीय परिकार र स्थानीय भेषभुषा प्रयोग गर्न थालिएको जिल्ला समन्वय समितिका सदस्य अनिल मल्लले बताए । ‘गाउँमा सबै स्थानीय खानाका परिकार दिने गरेका छौँ,’ उनले भने, ‘स्थानीय भाषा, संस्कृतिको पनि विकास गर्न लागिएको छ ।’ रमेश रावल, शिलापत्र