अन्य ठाउँका व्यापारीले ठगी गर्दा जुम्लाका किसान मारमा


जुम्ला । तिला गाउँपालिका–१ का पदम रावत गाउँको जैविक उत्पादन सिमी र स्याउ लिएर सुर्खेत पुगे । कर्णाली प्रदेशको राजधानी किसानले उत्पादन गरेको सिमी र स्याउको मूल्य बढी बिक्री हुने ठाउँ पनि हो ।

रावतलाई जुम्ला घर भन्दा कसैले पत्याएनन् । जुम्लाको नाम बेचेर ठग्ने पात्रका रुपमा उनलाई हेरियो । स्याउ र सिमी किन्न अनुरोध गर्दा “तपाईँ जस्तो ठगले झुक्याएर अब कोही झुक्किदैन, जुम्लाको नाम लिएर फाइदा लिने दिन गए” भनी उपभोक्ताले रावतलाई स्पष्ट भनिदिए । “पछि कुरो बुझ्दा छिमेकी जिल्लाका व्यापारीले जुम्लाको अर्ग्यानिक उत्पादन भन्दै ठग्ने गरेको रहस्य खुल्यो”, रावतले भने ।

तातोपानी–७ कै भरत रावतले नागरिकता देखाएरै जुम्लाको उत्पादन बेच्नु परेको गुनासो गरे । बजारमा जुम्ली स्याउ, सिमी र आलुको माग बढी हुन्छ तर सजिलै जुम्लाको उत्पादन हो भनेर विश्वास गर्दैनन् । उनले भने, “जुम्लाको उत्पादन भनेर अन्य जिल्लाका व्यापारीले पाइदा लुट्ने प्रवृत्ति हावी हुँदै गएको छ । जुम्लाका अर्ग्यानिक उत्पादन अरु जिल्लाका भन्दा फरक र स्वादिला हुने हुँदा नाम बेचेर फाइदा लुट्ने प्रवृत्ति हाबी हुँदै गएको छ ।”

स्याउ सिमी र आलु जस्ता नगदेबाली अन्य जिल्लाका व्यापारीले जुम्लाको प्राङ्गारिक भनी बेच्न गरेका छन् । मार्सी चामल र स्याउले बजारमा राम्रो प्रभाव जमाएको हुँदा जुम्लाको नाम लिनासाथ सजिलै बिक्री हुने लोभमा अन्य जिल्लाका व्यापारीले बदमासी गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए ।

जुम्लाका कृषि उत्पादनको बजारीकरणमा एकरुपता ल्याउनका लागि कृषि विकास कार्यालयले अर्गानिक ब्राण्डको लोगो बनाउने भएको छ । जुम्लाको नाम बेचेर गएगुज्रेका कृषि उत्पादन बेचबिखन रोक्नका लागि जैविक प्रतीकचिह्नले भूमिका खेल्ने कार्यालय प्रमुख देवकोटाले बताए ।