कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको एकीकृत विकास गरिने


कर्णाली सरकारले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको एकीकृत विकास गर्ने भएको छ । कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय, कर्णाली प्रदेश योजना आयोग र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त समन्वय बैठकले वीरेन्द्रनगरको एकीकृत विकास गर्न रणनीति तयार पारेको हो ।

चालु आर्थिक वर्षमा नै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको एकीकृत विकास रणनीतिलाई कार्यान्वयनमा लैजाने रणनीतिमा तीनै निकाय लागेका हुन् । कर्णाली प्रदेशको राजधानीको विकासलाई पहिलो प्राथमिकता राखेको कामको थालनी गर्ने आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए ।

‘एकीकृत विकास समितिले वीरेन्द्रनगरका तत्कालीन आवश्यक परिपूर्ती गर्ने नीतिगत निर्णय गरेको छ,’ उनले भने, ‘प्रदेश राजधानीकै सडक अस्तव्यस्त र खाल्डाखुल्डीले आवतजावतमै सकस हुन थालेपछि सरकारले राजधानी केन्द्रीत विकास आयोजनालाई पहिलो प्राथमिकतामा राखेको हो ।’

कर्णालीको प्रदेश राजधानीको एकीकृत विकास गर्नका लागि मन्त्री ज्वालाको संयोजकत्वमा बसेको बैठकले प्रदेश राजधानी वीरेन्द्रनगर एकीकृत विकाससम्बन्धी विभिन्न निर्णय गरेको कर्णाली योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाले बताए ।

‘राजधानी भित्रका खानेपानी, सडक, हरियाली, पर्यटन विकास र विमानस्थल विस्तार योजनालाई पहिलो प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘राजधानीभित्रका सडकलाई यथाशीघ्र निर्माण सम्पन्न गर्ने, वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान गर्न भेरी नदीको पानी लिफ्टिङ्ग गर्ने, सडकमा सोलार बत्तीको व्यवस्था गर्दै सीसीटीभी क्यामरासहितको सुरक्षित र हरियाली राजधानी बनाउन नीतिगत निर्णय गरेको छ ।’

सरकारले चालु आर्थिक वर्षका लागि एक अर्ब एक करोड बजेट प्रदेश राजधानीको विकास लागि विनियोजन गरेको आयोगका सदस्य डा. रोकायाले बताए । खानेपानीलाई पहिलो प्राथमिकता राखेर उत्पत्यकाको खानेपानी समस्या समाधान गर्न भेरी र झुप्रा दोभानबाट पानी लिफ्टिङ गरेर सुब्बाकुनाको अमृत डाँडामा झार्न संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई शीघ्र व्यवस्था मिलाउन निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले बताए ।

‘उपत्यकाको खानेपानी समस्या आधुनिक तवरबाट दीर्घकालीन विकास गर्न भएको अध्ययन प्रतिवेदन पेस गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई माग गर्न निर्देशन दिएका छौँ,’ उनले भने, ‘खानेपानीसम्बन्धी छलफलको निर्णय कार्यान्वयनमा सबैले सक्रियता लिन मंसिर १३ गते बैठक आह्वान गरेका छौँ ।’

संघ र प्रदेश सरकारको सह–लगानीमा निर्माण भइरहेका वीरेन्द्रनगरका सडक कालोपत्रे गर्ने कार्यलाई शीघ्रता दिई एक महिनामा सक्ने लक्ष्य सरकारको छ । त्यस्तै, नेताचौक–आँखा अस्पताल, मंगलगढी–क्याम्पस, भ्याली भ्यू होटल–उत्तर पीपल चौतारा सडकको कालोपत्रे, नाला र फुटपाथ निर्माणको बाँकी कार्य नगरपालिकालाई शीघ्र अघि बढाएर सम्पन्न गर्ने उल्लेख छ ।