निवेदनका भरमा सुटुक्क नियुक्ति, भ्रष्टाचारको मुद्दा खेपेकालाई खरिदार


सुर्खेतको सिम्ता गाउँपालिकाले हालै मात्र तीनवटा पदमा सुटुक्क कर्मचारी नियुक्त गरेको छ।

खरिदार, हलुका सवारी साधन चालक र कार्यालय सहयोगीमा तीन जना नियुक्त भएका हुन्। तर, उनीहरु सबैलाई सामान्य निवेदनका भरमा गाउँपालिकाले नियुक्ति दिएको हो।

खरिदार, हलुका सवारी साधन चालक र कार्यालय सहयोगीमा नियुक्त हुनेहरुमा क्रमशः तिलक नेपाली, दलबहादुर नेपाली र धीरेन्द्र अधिकारी रहेका छन्।

गाउँपालिकाको कार्यालयले यी तीन पदमा कर्मचारी नियुक्तिका लागि सूचना प्रकाशन नै गरेन। ठाडो निवेदनका आधारमा उनीहरुलाई सुटुक्क नियुक्ति दिइयो।

गाउँपालिकाका एक कर्मचारीले भने, ‘सामान्य निवेदनका भरमा नियुक्ति दिइएको छ। गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख टोपबहादुर रानाले उहाँहरुलाई नियुक्ति दिनुभएको हो।’

भ्रष्टाचारको मुद्दा खेपेकालाई खरिदार

गाउँपालिकाको खरिदार पदमा नियुक्ति पाएका तिलक नेपाली भने यसअघि गाउँपालिकाकै वडा नं. ८ को वडा कार्यालयमा मुखिया पदमा कार्यरत थिए।

वडा कार्यालयमा रहँदा उनले तीन लाख रुपैयाँ रकम दुरुपयोग गरेको भन्ने आरोप छ। यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा मुद्दासमेत परेको थियो।

गाउँपालिकाका एक कर्मचारीले भने, ‘उहाँ आचरण शुद्ध भएको व्यक्ति होइन। त्यसमाथि उमेरले उहाँ ४५ वर्ष कटिसक्नुभएको पनि छ। जागिरका लागि उहाँको समय कटिसक्यो। गाउँपालिकाको यस्तो कदमले यहाँको सुशासन तथा पारदर्शीता प्रति प्रश्न चिन्ह उठ्नु स्वभाविकै हो।’

तिलक नेपालीलाई उनी कार्यरत वडा कार्यालयबाट रकम दुरुपयोग गरेको आरोपमा बर्खास्तसमेत गरिएको थियो। तर, हाल आएर उनलाई पुनः गाउँपालिकाको कार्यालयमा खरिदार पदमा नियुक्ति दिइएको छ।

हलुका सवारीसाधन चालकमा नियुक्ति पाएका दलबहादुर नेपाली भने यसअघि गाउँपालिकामै कार्यरत थिए। उनी गाउँपाालिकाको गाडी चलाउँथे।

करार सेवामा नियुक्ति पाएर गाउँपालिकाको गाडी चलाउने गरेका उनको केही समय अघि सेवा समाप्त भएको थियो। उनलाई ठाडो निवेदनका आधारमा पुनः नियुक्ति दिइएको स्रोतको दाबी छ।

स्थानीय तह रिक्त पदको पदपूर्ति सम्बन्धी विनियमले कुनैपनि कर्मचारी छनोट गर्दा पत्रपत्रिकामा सूचना प्रकाशित गरी दर्खास्त आह्वान गर्नुपर्ने व्यवस्था गरेको छ।

स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन कार्यविधिमा पनि कुनैपनि कर्मचारी करारमा नियुक्ति गर्दा त्यसको योग्यता, पारिश्रमिक, सेवा, शर्तसमेत तोकी सम्बन्धित कार्यालयको सूचनापाटी, वेभसाइट तथा अन्य कुनै सार्वजनिक स्थलमा कम्तीमा १५ दिनको सूचना प्रकाशन गर्नुपर्ने उल्लेख छ।

तर, गाउँपालिकाले भने सूचना प्रकाशित नै नगरी विनाप्रतिस्पर्धा कर्मचारी नियुक्ति गरेको हो।

गाँउपालिकाका अध्यक्ष कविन्द्रकुमार केसी भने विनाप्रतिस्पर्धा सुटुक्क कर्मचारी नियुक्ति नगरिएको बताउँछन्। अध्यक्ष केसीले गाउँपालिकाले जनशक्ति आवश्यकताको आधारमा ज्यालादारीमा कर्मचारी छनोट गरेको जनाए।

गाउँपालिकाको क्षेत्राधिकार भित्र ज्यालादारीमा कर्मचारी छनोट गर्दा सूचना प्रकाशन गर्नुपर्ने नियम नभएको अध्यक्ष केसीको ठहर छ।

खरिदार पदमा नियुक्ति पाएका तिलक केसीविरुद्ध अख्तियारमा परेको मुद्दामा उनले सफाई पाइसकेको अध्यक्ष केसीले जनाए। पहिलेदेखि नै वडामा काम गरेका अनुभवी व्यक्ति पनि भएकाले नेपालीलाई नियुक्ति दिइएको उनको भनाई छ। अायाेमेलबाट