सुर्खेतको चार स्थानमा १५ शय्याको अस्पतालको शिलान्यास


कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चार स्थानमा १५ शय्याको अस्पतालको शिलान्यास गरिएको छ । जसअन्र्तगत आज तीन अस्पतालको शिलान्यास गरिएको छ भने शनिबार एउटा अस्पतालको शिलान्यास गरिँदैछ ।

आजै वीरेन्द्रनगरको लाटीकोइली, बराहताल गाउँपालिकाको बड्डीचौर, चौकुने गाउँपालिकाको बिजौरामा अस्पतालको शिलान्यास गरिएको छ । पञ्चपुरी नगरपालिकाको सालकोटमा शनिबार बिहान ११ः०० बजे अस्पतालको शिलान्यासको कार्यक्रम तय गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले उक्त अस्पतालको आज शिलान्यास गरेका हुन् ।

सङ्घीय सरकारको एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने अभियानअन्र्तगत अस्पतालको शिलान्यास गरिएको मन्त्री रावतले जनाए । शिलान्यासका क्रममा मन्त्री रावतले बजेटको अभाव हुन नदिइने बताए । ‘स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो, यसमा हामी बजेट अभाव हुन दिने छैनौँ,’ उनले भने, ‘हामी नागरिकको स्वास्थ्य स्थितिमा सुधार ल्याउनका लागि अघि बढेका छौँ ।’ अस्पताल निर्माणपछि सबै जनशक्ति तथा उपकरण व्यवस्थापन पनि सङ्घीय सरकारले गर्ने भएको छ ।

यसैबीच वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालका अनुसार रु १८ करोड लागतमा वीरेन्द्रनगरको लाटीकोइलीमा अस्पताल निर्माण गरिने भएको छ । बहुवर्षीय टेण्डरका आधारमा जतिसक्दो चाँडो अस्पताल निर्माण कार्य सम्पन्न गरिने उनको भनाइ छ । रासस