उपल्लो डोल्पामा प्राकृतिक नाकाबन्दी : सोचे झैं छैन जिन्दगी !


जाजरकोट : चिसो मौसममा सोचेका र आँटेका काम भनेकै समयमा भ्याउन उपल्लो डोल्पाका सर्वसाधारणलाई मुस्किल पर्छ। आवश्यक खाद्यान्न, लत्ताकपडादेखि अधिकांश सामग्रीहरू स्थानीयस्तरमा बन्दैनन्‌, आयातित सामान कुरेर बस्नुपर्ने हुन्छ।​

गर्मीयाममा गर्मीको महसुस गर्न नपाउने र चिसो मौसममा घर बाहिर आउन मुस्किल हुने पीडा खपिसाध्य छैन। हिमपात हुने याममा बाक्ला कपडा लगाएर घरभित्रै थन्किनुपर्ने र बिरामी पर्दा झन्‌ आपत्‌ भोग्नुपर्ने यहाँका बासिन्दाको बाध्यता हो। बिरामी परिहाले उपचार सदरमुकाम दुनैमै आइपुग्नुपर्छ। त्यहाँसम्म आइपुग्दा बिरामीको प्राण बाँकी रहन्छ/रहँदैन, यसै भन्न सकिँदैन।

यी सबै बाध्यता र कष्टको एउटै कारण हो : प्राकृतिक नाकाबन्दी। बाह्रैमास जसो हिउँ पर्ने हुनाले यो क्षेत्रमा सदावहार प्राकृतिक नाकाबन्दी हुन्छ। जसकारण स्थानीयले भोगिरहेको सास्तीको हिसाब नै गर्न सकिँदैन।

तिब्बतसँग सिमाना जोडिएको उपल्लो डोल्पा कठिन भू-बनोट भएको क्षेत्रमा पर्दछ। स्थानीय सरकारका प्रमुखहरू प्रकृतिले विकास गर्न समेत नदिएको भन्दै पीडा पोख्छन्। अग्ला, अग्ला हिमाल,त्यसमा एक ठाउँबाट अर्को ठाउँमा जान दिनभरी हिँड्नुपर्ने यहाँको नागरिकहरूको बाध्यता हो।

गाउँमा बिरामी हुँदा आम्ची बोलाएर उपचार गर्नुपर्छ, जो भगवानको भरोसा सरह नै हो। सदरमुकाम दुनै पुग्न तीनदेखि सात दिनसम्म लगातार हिँड्नुपर्छ। ५ महिनासम्म यहाँका बालबालिकाले सबै खालका खोपहरू समेत नपाउने गरेको स्वास्थ्य सेवा कार्यालय डोल्पाका कर्मचारीहरू बताउँछन्‌।

यो क्षेत्रमा फापर र उवा लगायतका अन्नबाली लगाउने गरिन्छ। घरमा पालिएका पशु-चौपाया नै अन्यत्रबाट सामान ढुवानी गर्ने प्रमुख साधन हुन्‌। उत्पादित अन्नले वर्ष दिनभर खान पुग्दैन। आयातित अन्नले नै उपल्लो डोल्पावासीको पेट भरिने गरेको शे-फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपाने बताउँछन्‌।

हिमालहरू हेर्दा उपल्लो डोल्पा जति सुन्दर लाग्छ : सधैँभर यहीँ बस्ने सर्वसाधारणहरूको दु:ख भने कल्पना गरिसाध्य हुँदैन। विकासका नाममा डोल्पाको सदरमुकामबाट केही घण्टा हिँडेपछि भेटिने जुफाल विमानस्थल र पटक-पटक समस्या आइरहने जैरीगाड जलविद्युत आयोजना देखिइन्छन्‌। डोल्पाको अर्को मुख्य पहिचान भनेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्‍ज र शे-फोक्सुण्डो ताल हो।
तिब्बतबाट अहिले उपल्लो डोल्पामा सडक खन्ने काम थालिएको छ। खुला सिमाना नभएका कारण सडक पुगेपनि तिब्बतबाट पाउने सेवासुविधा उपल्लो डोल्पावासीहरूको पहुँचमा सहजै पुग्ने देखिँदैन। भदौ महिनामा १५ दिनसम्म मात्र हाट बजार भनेर सिमाना खोलिन्छ। त्यो पनि वर्षमा एकपटक मात्र खुला हुने गरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।

शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो। डोल्पा र मुगु फैलिएको छ। हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदाहरू छन्‌।

​यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारी क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँचितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा र नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन्। यस निकुञ्जलाई डाँफे, मुनाल र चीरलगायत २०० प्रजातिका पंक्षीहरू, ६ प्रजातिका सरिशृप र ३२ प्रजातिका पुतलीले जैविक विविधताले अझ धनी बनाएको छ।

आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँचितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ। काञ्जिरोवा दक्षिण (६,८६६ मि.), सिकाल्पो खाङ (६,५५६ मि.), वेज चुचुरो (७,१३९ मि.) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन्। निकुञ्जको लगभग मध्ये भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ।

उपल्लो डोल्पामा प्राचीन कालमा निर्माण भएका ऐतिहासिक गुम्बाहरू छन्। संरक्षण गर्न सुरक्षा व्यवस्था प्रभावकारी हुनुपर्ने सर्वसाधारणहरूको माग छ। उपल्लो डोल्पामा रहेका सबै प्रहरी चौकीहरू चिसोका कारण दुनैमा सारिएको छ। अधिकांश जनप्रतिनिधिहरू समेत सुविधा सम्पन्न ठाउँमा पुगेका छन्। शे-फोक्सुण्डो निकुञ्‍जमा खटिएका कर्मचारी, सुरक्षाकर्मीहरू निकुञ्‍जको सुरक्षार्थ चिसोमै खटिएका छन्। 

निकुञ्जले गरेको आम्दानीको ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्रको विकासमा खर्चिने कानूनी व्यवस्था छ। निकुञ्जभित्रको कोर एरियामा २४ वटा गाउँ छन्। उपल्लो डोल्पाका शे–फोक्सुन्डो र डोल्पो बुद्ध गाउँपालिका तथा मुगुको मुगुम कार्मारोङ गाउँपालिकाका केही भाग निकुञ्जको कोर एरियामा पर्छ। निकुञ्जका ५७ जना कर्मचारी निकुञ्‍जको सुरक्षा खटिएका छन्। अझै दरबन्दीअनुसार १० जना कर्मचारी रिक्त छ। निकुञ्जको सुरक्षार्थ तैनाथ ईश्वरी बक्स गुल्मका सुरक्षा पोस्ट पनि डोल्पामा मात्र रहेका छन्। निकुञ्जको भाग फोक्सुन्डो तालभन्दा ५ दिन पैदल लाग्ने तिब्बतको सीमासम्मै फैलिए पनि निकुञ्जका कर्मचारी र सेनाको उपस्थिति प्रभावकारी बनाउन लागिएको छ।

१० वर्षे जनयुद्ध अघिसम्म निकुञ्जको मुख्यालय फोक्सुन्डो तालभन्दा एक घण्टा तलको पलममा थियो। द्वन्द्व कालमा भएको आक्रमणपछि निकुञ्जको मुख्यालय सदरमुकाम नजिकको सुलिगाडमा झरेको छ। ​सुलिगाडबाट पलम ​पुग्न दुई दिन पैदल हिँड्नुपर्छ। सदरमुकाम दुनै सुलिगाडबाट आधा घण्टाको दूरीमा छ।

अहिले निकुञ्‍जले पशु बीमादेखि वन्यजन्तुबाट हुने हाँनीको क्षतिपूर्ति दिन गाउँ-गाउँमा सचेतना फैलाएर स्थानीय र निकुञ्‍जको सम्बन्धका साथै अपनत्व समेत बढाएको छ।​ निकुञ्‍ज क्षेत्रका विद्यार्थीमध्ये दुइ जनालाई छात्रवृत्ति दिइरहेको निकुञ्‍जका प्रमुख सरोजमणि पौडेलले जानकारी दिए।

काम गर्नका लागि फोन सेवा प्रभावकारी नहुँदा दैनिक समस्या भोगिरहेको डोल्पाका नागरिकहरू बताउँछन्। नामका मात्र टावर राखेर काम नभएकाले सेवा पनि दिनुपर्ने शे-फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले बताए। गाउँमा मात्र होइन, सदरमुकाम दुनैमा समेत टेलिफोन सेवाप्रति कोही पनि नागरिक खुसी नभएको सुरक्षा अधिकारीहरू बताउँछन्।

हामीले डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग फोनमा सम्पर्क गर्न खोज्दा कुरा गर्दा फोनमा आवाज राम्रोसँग सुन्न नसक्दा चारपटक काटियो। स्थानीयस्तरमा विद्युत सेवा त झन कति बेला के हुन्छ, थाहा नै नहुने गरेको डोल्पाका पत्रकारहरू बताउँछन्‌।

धनी तातो खोज्दै, गरीब चिसो सहँदै  

आफ्नो रैथाने घर र जग्गाजमिन सबै छाडेर चिसो छल्न उपल्लो डोल्पाका हुने खाने मानिसहरू शहरबजारतिर झर्ने गर्छन्‌। आर्थिक रूपमा समस्यामा परेका स्थानीयवासीहरू भने आफ्नै घरमा चिसोसँग मुकाबिला गरिबस्छन्‌।

कु, साल्दाङ, कराङ, कोमा, छल्न मुसी, निजाल, फोत, नाम्दो, भिजेर लगायत दर्जन गाउँका केही सर्वसाधारणहरू यतिखेर चिसो छल्ने भनी तल झरेका छन्। तातो फर्केपछि फागुनमा मात्र उपल्लो डोल्पामा फर्कने गरेको बेंसी झर्दै गरेका सर्वसाधारणहरू बताउँछन्।

जाजरकोट,रुकुम पश्चिम, सुर्खेत, नेपालगन्ज र काठमाडौँलगायत अधिकांश ठाउँमा उपल्लो डोल्पाका सर्वसाधारणको बसाइ हुने गरेको छ। हुनेखानेका घरहरू सुविधासम्पन्न ठाउँमा निर्माण गरिएकाले उनीहरू चिसो छल्न तल झर्न सक्छन्‌। आफ्नो घर नभएकाहरू औल झर्नुअघि उवा, फापर, आलु, गहुँलगायतका बाली थन्क्याएर बेंसी आएर अर्काको घरमा बस्छन्। केहीको जिम्बु ​बिक्री गर्ने काम समेत जोडेर तल झर्छन्‌ र आवधिक व्यापारमा लाग्छन्‌। यार्सागुम्बा उपल्लो डोल्पालीको मुख्य आयस्रोत हो। पशुपालन र व्यापार वैकल्पिक आयस्रोत हुन्।

उपल्लो डोल्पामा तीनवटा गाउँपालिका छन् : शे–फोक्सुन्डो, छार्का ताङसोङ र डोल्पोबुद्ध। तीनवटै गाउँपालिका तिब्बतसँग जोडिएका छन्। सदरमुकाम दुनै सडक सञ्जालमा जोडिएपनि त्यसभन्दा माथि सडक छैन। उपल्लो डोल्पाका बस्तीसम्म पुग्न दुनैबाट एक सातासम्म हिँड्नुपर्छ। सवारीको मुख्य साधन घोडा हो। दुनै र त्रिपुराकोटमा किनिएका सामान खच्चडबाट ढुवानी गर्ने गरिएको छ।

साल्दाङ शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र र सबैभन्दा ठूलो गाउँ हो। फोक्सुन्डो ताल र करिब एक हजार वर्ष पुरानो शे र सामलिङ गुम्बा पनि यही रहेको छ। साल्दाङमा रहेको कक्षा ८ सम्म पढाई हुने विद्यालय चिसोले बन्द भइसकेको छ। फोक्सुन्डो तालको छेउमा पुरानो बस्ती छ : जहाँ तिब्बती शैलीका लगभग चार दर्जन घर रहेका छन्।

शे–फोक्सुन्डो गाउँपालिकासँग तिब्बतको क्याटो नाका जोडिएको छ। छिमेकी डोल्पोबुद्ध गाउँपालिकासँग तिब्बतकै मरिमला नाका जोडिएको छ। धो तराप, ताक्सी, सिमेनका बासिन्दा उक्त बजारमा किनमेल गर्छन्‌।

थाहाखबरबाट