खेतीयोग्य जमीनमा सिंचाइ अभाव


खलङ्गा । तिला गाउँपालिका–१ स्थित दहचौर सिंचाइ सुविधाबाट वञ्चित भएपछि खेतीयोग्य जमीन अकाशको पानीको भरमा रहेको छ । सो जमीनलाई सिंचाइ सुविधा नहुँदा खेतीयोग्य जमीन अनुत्पादक जमीनका रुपमा परिणत भएको वडाध्यक्ष परबहादुर रावतले बताए ।

तिला नदीबाट पानी ल्याउनुको कुनै विकल्प नरहेको स्थानीयवासी नौसेर रावतले बताए । धान, मकै, गहुँ खेती गर्दै आए पनि सिंचाइ सुविधाको अभावमा अहिले मकै र कोदो खेती मात्र गर्दै आएको स्थानीयवासी काली बुढाको भनाइ छ । उनले भने, “झण्डै एक हजार २ सय रोपनी जमीनमा अहिले सिंचाइको पहुँच छैन ।”

सिंचाइको सुविधाबाट वञ्चित भएसँगै स्थानीयवासीको जीविकोपार्जनमा समस्या देखिएको छ । गाउँमा एक दिन खानेपानीको समस्या भएपछि तिला नदीको दूषित पानी बोकेर खानुपरेको यहाँका स्थानीयवासी बताउँछन् ।