बढ्दो चिसोले कर्णालीमा धाराको पानी जम्यो, जनजीवन कष्टकर


कर्णाली प्रदेशका विभिन्न जिल्लामा मङ्सिरयता चिसो बढ्दै गएको छ । जसका कारण जुम्ला, मुगु, हुम्ला र डोल्पाका नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । कालिकोट, जाजरकोट र रुकुमपश्चिमका उत्तरी भेगमा बसोबास गर्दै आएका नागरिकसमेत चिसोले प्रभावित बनेका छन् ।

जुम्लाको न्यूनतम तापक्रम यतिबेला माइनस ८.५ डिग्री सेल्सियसमा झरेको छ । जाडो बढे पनि साविकको कर्णालीका कुनै जिल्लामा वर्षा तथा हिमपात नभएको हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख आशामपुरा कार्कीले जानकारी दिए । कठ्याङ्ग्रिने जाडो नघट्दासम्म हिमाली बासिन्दाको खासगरी बिहान र बेलुकाको दैनिकी अझ बढी कठिन हुने कार्यालय प्रमुख कार्कीले जनाए ।

जाडो बढ्दै जाँदा खानेपानीका धारामा बरफ जमेर पानी आउन छाडेको छ । मोटरसाइकल गाडीमा पेट्रोल डिजेल जम्दा सञ्चालमा ल्याउन सकस भएको छ । यसले गर्दा यातायात व्यवसायीलाई पनि सेवा प्रवाहमा समस्या भएको व्यवसायी ज्वारीलाल भट्टराईले बताए । शौचालयका धारा बन्द भएपछि नागरिकलाई शौच गर्नसमेत कठिनाइ भएको छ ।

चिसोले पानीका पाइप फुट्न थालेका छन् । मुख्यतयाः मानव जीवनका लागि दैनिकरूपमा नभई नहुने पिउने पानी आउन छाडेपछि यहाँका नागरिकले बढी सास्ती खेप्नुपरेको खलङ्गा खानेपानी उपभोक्ता समितिका अध्यक्ष पन्नाबहादुर रोकायले जानकारी दिए । घरमा राखिएका ग्यास सिलिण्डर पनि जम्न थालेको चन्दननाथ नगरपालिका–६ जुम्लाका स्थानीय पदमलाल महतले जानकारी दिए ।

धारामा बरफ जम्दा घरमा न पानी छ, न त आगो बाल्ने दाउरा छ । सिलिण्डर ग्यासको विकल्पमा दाउरा खोज्नुपर्ने बाध्यता आइलागेको छ । धारा र पाइपमा बरफ जमेपछि स्थानीयवासी पानी जोहोका लागि प्राकृतिक मूल खोजी गर्न थालेका छन् । मूलमा पानी नजम्ने भएकाले त्यस्ता स्रोत नजिक भएका गाउँहरुलाई सजिलो भएको स्थानीयले बताएका छन ।

चिसोले विपन्न, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति र सुत्केरी बढी प्रभावित भएका छन् । यो समयमा दम, निमोनिया, रुघाखोकी, कोल्ड डाइरियाका रोगी अस्पतालमा बढी आउने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा. अर्जुनप्रसाद तिवारीले जानकारी दिए ।