कर्णालीको पीडा बन्दै प्राकृतिक विपत्


  • शुर बहादुर सिंह

कर्णाली । प्राकृतिक विपत्तिबाट यस वर्ष कर्णालीमा ठूलो क्षति पुगेको छ । बाढी, पहिरो, चट्याङ, हावाहुरी र आगलागी जस्ता प्राकृतिक विपत्‌बाट चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिकमा ठूलो धनजनको क्षति भएको पाइएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतकाअनुसार साउन, भदौ, असोज र कात्तिक महिनामा बाढी, पहिरो, हावाहुरी र आगलागीबाट गरी रु १८ करोड २५ लाख बराबर धनजनको क्षति भएको छ । विपत्‌बाट साउन महिनामा रु आठ करोड ४९ लाख तीन हजार ६ सय ८४ बराबरका धनजनको क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी भदौमा रु छ करोड ७१ लाख ६२ हजार ३०, असोजमा रु दुई करोड ५१ लाख ९१ हजार ३ सय र कात्तिकमा रु ११ लाख ९० हजार ३ सय बराबरको धनजनको क्षति भएको सहप्रवक्ता श्रेष्ठले बताए । “गत साउन र भदौमा पहिरो र बाढीबाट धनजनको ठूलो क्षति भयो”, उनले भने, “यद्यपि थप क्षति हुनबाट कर्णाली प्रदेश विपद् व्यवस्थापन समितिको भूमिका राम्रो रह्यो ।”

प्रदेश प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार कर्णालीमा सबैभन्दा बढी क्षति क्रमशः पहिरो, आगलागी र बाढीबाट भएको पाइएको छ । चालु आवको चार महिनाको अवधिमा पहिरोबाट रु १० करोड ६० लाख ५१ हजार २ सय ८४, आगलागीबाट रु चार करोड ३७ लाख ९१ हजार ६ सय ३९ र बाढीबाट रु एक करोड ८२ लाख ९१ हजार ९ सय ३१ बराबर जनधनको क्षति भएको छ ।

हावाहुरीले भने यस प्रदेशमा रु आठ लाख र चट्याङले सबैभन्दा कम रु एक लाख दुई हजार ६ सय बराबर जनधनको क्षति भएको प्रदेश प्रहरी कार्यालयको अभिलेखमा छ । त्यस्तै प्राकृतिक विपत्तीले कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी हुम्ला जिल्लामा क्षति पुर्याएको छ । पहिरो र आगलागीका कारण हुम्लामा रु पाँच करोड ४४ लाख ९४ हजार १ सय ६० बराबर धनजनको क्षति भएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

उनले अगाडि भने, “पहिराको जोखिमका हिसाबले दोस्रोमा दैलेख रहेको छ । यो वर्षको पहिलो चौमासिकमा दैलेखमा पहिराकै कारण रु चार करोड १२ लाख १६ हजार ९ सयको जनधन क्षति भएको छ । सुर्खेत भने बाढी र आगलागीको चपेटामा परेको छ । ती दुवै विपत्तीबाट सुर्खेतले रु तीन करोड ४८ लाख दुई हजार ५ सय बराबरको जनधनको क्षति व्यहोर्नु परेको छ ।”

बाढी, पहिरो, आगलागी हावाहुरी, चट्याङजस्ता विपत्तिबाट जाजरकोटले रु एक करोड ९३ लाख सात हजार २ सय ५०, जुम्लाले रु एक करोड ४० लाख ५८ हजार १ सय, कालीकोटले रु ७८ लाख ३६ हजार ४ सय ३४, सल्यानले रु ३२ लाख ८२ हजार १ सय ३१, मुगुले रु २९ लाख ४२ हजार २ सय र सबैभन्दा कम डोल्पाले रु १७ लाख ४२ हजार २ सय बराबरको जनधनको क्षति व्यहोरेको छन् ।

साउनमा २२ वटा विपत्तिका घटना हुँदा ३ सय ७६ घर क्षति भएका छन् । त्यसबाट १९ महिला र १८ पुरुष गरी ३७ जनाको मृत्यु, पाँच जना बेपत्ता, ३१ घाइते, एक हजार ४ सय १३ परिवार विस्थापित र २ सय १२ पशुचौपायाको मृत्यु भएको छ । भदौमा २१ विपत्तीका घटनाबाट ३ सय ४३ घर क्षति, १४ पुरुष र छ महिला गरी २० जनाको मृत्यु, चार बेपत्ता, १७ घाइते, ५ सय ८८ परिवार विस्थापित र ३ सय ३ पशुचौपायाको मृत्यु भएको जनाइएको छ ।

त्यस्तै असोजमा १३ विपत्तिका घटना घट्दा एक जना घाइते, ४५ परिवार विस्थापित तथा कात्तिकमा छ विपत्तीका घटनाबाट १६ घर क्षति, दुई महिला एक पुरुष गरी तीन जना मान्छे र तीन पशु चौपायाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरो, बाढी र आगलागीका कारण कालीकोटले सबैभन्दा बढी मानवीय क्षति भोग्नुपर्यो ।

यो चार महिनाको अवधिमा विपत्तिका कारण कालीकोट जिल्लामा २३ महिला र २१ पुरुष गरी ४४ जनाले ज्यान गुमाए भने सात जना अझै बेपत्ता रहेका छन् । बाँकी मृत्यु हुनेमा अन्य जिल्लाका नागरिक रहेको प्रहरीले जनाएको छ । भूगर्भविद्हरुले यसअघिदेखि नै कर्णाली तथा तिला नदी किनारमा रहेका बस्ती उठाएर सहजमा ठाउँमा व्यवस्थापन गर्नुपर्ने अन्यथा ठूला घटना घट्ने चेतावनी दिँदै आएका छन् ।

प्रदेश प्रहरी कार्यालयको यस वर्षको तथ्याङ्कले जुम्ला कर्णाली प्रदेशमै हावाहुरी, हिमपहिरो, बाढी र पहिराको जोखिममुक्त जिल्लाका रुपमा देखिएका छ । आगलागीका घटना भने जुम्लामा पटकपटक हुँदै आएका छन् । डोल्पा जिल्ला पहिरोबाहेक अन्य जोखिममुक्त नै रहेको पाइएको छ ।

सहप्रवक्ता श्रेष्ठका अनुसार कर्णालीका सबै जिल्ला सदरमुकाम र स्थानीय तहमा आगलागी हुँदा घटनास्थलमा न सजिलै दमकल जाने बाटो छ न त प्राकृतिक विपत्तीमा आवश्यक तालीम प्राप्त जनशक्ति नै । कठिन भूगोल, आवश्यक उपकरण र जनशक्ति अभावले पनि बेलैमा उद्धार तथा राहतका कार्य हुन नसकेको उनको भनाइ छ । उनले जोखिम क्षेत्रको पहिचान गरी त्यहाँको समस्याको समाधान गर्न सम्बन्धित निकायले समयमै पहल गर्नुपर्ने कुरा सुनाए ।

कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्त कुमार पन्तले कर्णालीमा विपद्का विषयमा नागरिक सचेत नुहुनु र भिरालो जमीनका कारण पहिरो एवं बाढी जाँदा धनजनको ठूलो क्षतिको भएको बताए । क्षति बढ्नुका कारण यातायातको सहज पहुँच र विपत्‌मा विषयमा नागरिकमा सचेतीकरण नभएको प्रहरी नायब महानिरीक्षक पन्तको भनाइ छ । “भौगोलिक विकटताले बाढी र पहिरो जाँदा, आगलागी हुँदा या चट्याङ पर्दा न बेलैमा घटनास्थलमा जान सकिन्छ न त जानकारी लिन नै पाइन्छ”, उनले भने, “मौसम र सूचनाको प्रभावकारिता हुन नसक्नुले पनि कर्णालीमा धनजनको बढी क्षति भएको हो । मानवीय सावधानीको कमीका कारण पनि विपत् जोखिमको सामना गर्नु परेको उनको भनाइ थियो ।

प्रहरी नायब महानिरीक्षक पन्त भन्छन्, “कर्णाली प्रदेशका अधिकांश बस्ती भिरोलो जमीनमा अवस्थित छन् । त्यसमा धेरै बस्ती निकै जोखिमपूर्ण अवस्थामा पनि छन् । तिनलाई व्यवस्थापन गर्न र भावी दिनमा आइलाग्ने सम्भावित जोखिमबाट जोगाउन संघ, प्रदेश तथा स्थानीय तहका सरकारहरुले ध्यान दिनुपर्दछ ।”

कर्णालीमा पहिलो पहिरो, दोस्रो आगलागी र तेस्रोमा बाढीको विपत्ती बढी भएको तथ्याङ्कले देखाएको छ । तीलगायत तीनै विपत्तीको प्रतिकार्य, रोकथाम तथा नियन्त्रण गर्न प्रदेश सरकारको विपत् व्यवस्थापन केन्द्र र सम्बन्धित जिल्लामा रहेका जिल्ला विपत् व्यवस्थापन समितिले विपत् न्यूनीकरणका दूरगामी प्रभाव पार्ने रणनीतिक योजना तयार गर्नुपर्ने कुरा जानकारहरुले सुझाएका छन् । रासस