प्रदेश सभाको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘नागरिक अन्तर्संवाद’ कार्यक्रम सम्पन्न


कर्णाली प्रदेश सभाको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘नागरिक अन्तर्संवाद’ कार्यक्रम सम्पन्न भएको छ। मंगलबार कर्णाली प्रदेशसभाको ३ वर्षको कार्यसम्पादनको समीक्षासहित नागरिकहरूका जिज्ञासा तथा सुझाव लिने उद्देश्यले आयोजित कार्यक्रममा कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्ती (विष्ट), प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही, सत्तारुढ दलका प्रमुख सचेतक सिताकुमारी नेपाली, प्रदेश सभाको सार्वजनिक लेखा समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठ,विधायन समितिका अध्यक्ष दानसिंह परियार, सामाजिक विकास समितिसदस्य पद्मा खड्का र कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकी प्यानलिस्टको रुपमाउपस्थित हुनुहुन्थ्यो । उहाँहरू भौतिक उपस्थितिमै प्रदेशसभामा र बाँकी भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागिता जनाउनुभएको थियो । कार्यक्रममा भौतिक उपस्थितिमा करिब ४० जना विभिन्न निकायबाट प्रतिनिधित्व गर्ने सरोकारवालाहरूले  सहभागिता जनाउनुभएको थियो भने भर्चुअल माध्यमबाट कर्णाली प्रदेशका १० वटै जिल्लाबाट करिब ५० जना नागरिकहरू जोडिनुभएको थियो ।

 

कार्यक्रममा कर्णाली प्रदेशसभाका  सचिव जीवराज बुढाथोकीले प्रदेशसभाको ३ वर्षको कार्यसम्पादनको अवस्थाबारे उल्लेख गर्नुभएको थियो । त्यसपश्चात् कार्यक्रम अन्तर्संवाद नागरिकहरू र प्रदेशसभाका पदाधिकारीहरुसँग गरिएको थियो । कार्यक्रमको उद्घोषण  प्रदेशसभाको सामाजिक विकास समितिका सचिव राजेन्द्र पौड्यालले गर्नुभएको थियो भने अन्तर्संवाद कार्यक्रमको सञ्चालन ऋति फाउन्डेसनका दिनेश गौतमले गर्नुभएको थियो ।

नागरिकहरूसँग अन्तर्संवादमा बोल्दै सभामुख राजबहादुर शाहीले प्रदेशसभामा प्रदेशसभा सदस्यहरूको उपस्थिति महत्त्वपूर्ण रहेको बताउँदै कार्यपालिका भन्दा व्यवस्थापिका सबैभन्दा महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्रदेशसभामा प्रायजसो पदाधिकारीको नयाँ अनुभव भएको र धेरै कानुन निर्माण गर्नुपर्ने जिम्मेवारी भएकोले अन्योल सिर्जना भए पनि हाल राम्रो कार्यसम्पादन भएको बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारको निगरानी र खबरदारी प्रदेश सभा र प्रमुख प्रतिपक्षी दलले जिम्मेवारीका साथ गरिरहेको बताउनुभयो।उपसभामुख पुष्पा घर्ती विष्टले प्रदेशसभामा महिला सांसदहरूले महिला तथा सीमान्तकृत समुदायको आवाज प्रदेश सरकारसमक्ष राखिरहेको बताउनुभयो ।प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिका अध्यक्ष दानसिंह परियारले नागरिकहरू पनि कानुनको कार्यान्वयनमा सचेत हुनुपर्ने बताउनुभयो ।प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले प्रदेशसभामा नागरिकहरूले पाउनुपर्ने सूचनाहरू सहजै पाउनका लागि वेबसाइटको नियमित अपडेट र सूचना प्रविधिको प्रयोग गरी बैठकहरू सञ्चालन गरिरहेको बताउनुभयो ।