सहिदको स्मृतिमा पार्क निर्माण


कर्णाली सरकारले सुर्खेतको वीरेन्द्रनगर ४ मा प्रदेश प्राप्तिको आन्दोलनका सहिदहरुको स्मृतिमा पार्क निर्माण गरेको छ । वन तथा वातावरण निर्देशनालयले वीरेन्द्रनगर नगरपालिकाको प्राविधिक सहयोगमा भैरम सामुदायिक वन क्षेत्रमा पार्क निर्माण सम्पन्न गरेको हो ।

 

छुट्टै प्रदेशको माग राखी संविधान जारी हुनुपूर्व यस क्षेत्रमा भएको आन्दोलनमा सुर्खेतका तीन र जुम्लाका एक जनाले ज्यान गुमाएका थिए । सुर्खेत वीरेन्द्रनगरका टिकाराम गौतम, गोपालसिं रजवार, याम वीसी र जुम्लाका हरिबहादुर कुुँवरलाई प्रदेश आन्दोलनका सहिदका रुपमा कर्णाली प्रदेशले सम्झने गरेको छ । यी चार सहिदको सम्झनामा प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन तथा वातावरण निर्देशनालयले पार्क निर्माणको योजना अघि बढाएको हो । अभियान निर्माण सेवाले रु. एक करोड १३ लाख ५१ हजार लागतमा पहिलो चरणको काम सम्पन्न गरेको निर्देशनालयले जनाएको छ । पहिलो चरणमा पार्कमा स्तम्भ, बगैँचा, पर्खाल निर्माण गरिएको छ ।

 

दोस्रो चरणमा वनस्पति उद्यानलगायत निर्माण गर्ने तयारी छ । वन निर्देशक शिवराम अधिकारीले बहुवर्षीय योजना भएकाले बाँकी संरचना थपिँदै जाने बताउनुभयो । पार्क निर्माणसंगै आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । भैरम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर कार्कीले बिदाको दिनमा पार्क हेर्न आउनेहरुको घुइँचो लागेको बताउनुभयो । “सहिदहरुकोे सम्मानमा वन क्षेत्रभित्र पार्क निर्माण गर्न दिएका हौं, पार्क बनेसंगै घुमफिर गर्न आउनेहरुको संख्या धेरै छ,” उहाँले भन्नुभयो, “पार्कमा सबै संरचना नबन्दै यहाँ आएर फोटो÷सेल्फी खिच्न र टिकटक बनाउनेहरुको थामिनसक्नु भीड छ ।