मदन भण्डारी राजमार्ग सुर्खेतको पूर्वी भेडाबारी सडक खण्डमा अन्यौल हट्यो


पूर्व पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेतमा पर्ने पूर्वी खण्डको अन्यौल हटेको छ । धुलियाबिट–भेडाबारी बोटेचौर सडकको स्तरोन्नतिका लागि टेण्डर प्रक्रिया शुरु भएसंगै आयोजनाले गलि लिने निश्चित भएको हो ।

आयोजनाको निरन्तर निगरानी गरिरहनुभएका सुर्खेत–१ का प्रतिनिधिसभा सदस्य धु्रवकुमार शाहीले चालू आर्थिक वर्षमै बहुवर्षीय ठेक्का अन्तर्गत काम शुरु हुने बताउनुभयो । विस्तृत आयोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएलगत्तै आयोजनाले निर्माण प्रक्रिया अघि बढाएको हो । “निरन्तरको प्रयासपछि सडक स्तरोन्नति हुँदैछ, आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न हामी जनप्रतिनिधिहरुले पनि आ–आफ्नो तहबाट सहयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो, “ओझेलमा परेको जिल्लाको पुरानो सडक खण्ड राष्ट्रिय राजमार्गमा जोडिनुले पूर्वी क्षेत्रको विकासमा ठूलो मद्दत पु¥याउनेछ ।” विसं २०३६ सालमा ट्रयाक खुलेको भेडाबारी सडक त्यसयता स्तरोन्नति हुन सकेको थिएन ।

सडकको नौ मिटर चौडाईसम्म कालोपत्रे गरिनेछ । हाल उक्त सडकको चौडाई करिब चार मिटर छ । स्तरोन्नति गर्दा करिब ५२ प्रतिशत सडक फराकिलो बताइएको छ । सुर्खेत जिल्लामा मदन भण्डारी राजमार्ग १२९ किमी पर्दछ । तीमध्ये वीरेन्द्रनगर पूर्वमा ३५ तथा पश्चिम क्षेत्रमा ९४ किमी पर्दछ । पश्चिममा बड्डीचौर–बेनीघाट सडक खण्डलाई मदन भण्डारी राजमार्गमा कायम गरिएको छ । यो पनि ट्रयाक खोलिएको पुरानो सडक खण्डमा पर्दछ । पूर्वी क्षेत्रको टेण्डर प्रक्रिया शुरु भइसक्दा पश्चिम खण्डमा भने अन्यौल कायमै छ । केही समय स्थानीयबासीको अवरोधका कारण डिपिआर तथा ईआइएको काम प्रभावित हुन पुगेको थियो ।