काँचुली फेर्दै वीरेन्द्रनगर: धुलाम्य सडकहरु बने चिल्ला, हरियाली र आकर्षक



सुर्खेत । कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर धुलाम्य साँघुरा सडक, खाल्डाखुल्डीले अस्तव्यस्त थिए । चोक चौताराहरु पनि उस्तै । अब भने वीरेन्द्रनगरले काँचुली फेरेको छ । यहाँका सडक र आसपासका क्षेत्र आकर्षक देखिएका छन् ।

छेउछाउमा यतिबेला गुलमोहर फुलेर राताम्य देखिएको छ । कोरोना संक्रमणबाट सुरक्षित रहन जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाकै बीच पनि ती चिल्ला, हरियालीमैत्री सडकमा फोटो, सेल्फी लिनदेखि टिकटक बनाउनेहरुको नजर परेको छ ।

बैशाखको खडेरीमा सडक छेउका हरियाली बोटहरु, रंगमंग फुलेका थरिथरीका फूलहरु र चिल्ला सडकहरु सामाजिक सञ्जालमा भाइरल छन् ।


वर्षौंसम्म धुलाम्य सडकबाट आजित सुर्खेतबासी सडकले रुप फेरपछि औधी खुसी छन् । स्थानीय युवा भरत गौतमले नाकमुख छोपेर हिँड्नुपर्ने, गाडी आउनवित्तिकै धूलोबाट जोगिन पसलका सटर हतारहतार बन्द गर्नुपर्ने बाध्यता अन्त्य भएको बताए ।

सडक सुधारप्रति नागरिकले खबरदारी पनि गरिरहेका छन् । विस्तारका नाउमा केही स्थानमा रुखहरु काटिएको छ । कालोपत्रे गरिएका सडक र छेउमा रंगिचंगी रुखहरुसहितको फोटो राख्दै सुर्खेत घर भई हाल काठमाडौंमा कार्यरत सञ्चारकर्मी प्रकाश लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । “जबजब वसन्त ऋतु लाग्छ, सुर्खेतको वीरेन्द्रनगरमा रोपिएका यी रुखहरु र योजनावद्ध (उतिबेलाको क्षमताअनुसार) रुपमा बनेका सडकहरु यो सहरको परिचय बोकेर झुल्किन्छन् । विस्तारै सडक विस्तारले वीरेन्द्रनगरको यो सडककिनारको हरियाली मासिँदै गएको छ । विस्तारित सडकहरुमा रुख रोप्ने र फेरि यस्तै गुल्जार गुलमोहरले वीरेन्द्रनगरलाई रंगीन बनाउन नगरपालिका र नगरबासीहरुको ध्यान जाओस् !”

विगतमा अस्तव्यस्त सडकहरु सुधार नगरेको भन्दै स्थानीय जनप्रतिनिधिले पनि नागरिकका थुपै्र आक्रोश सहनुपथ्र्यो । जनप्रतिनिधि भने अब सडक बनेपछि ढुक्कले हिँड्न पाएको भन्दै खुसी छन् । नगर प्रमुख देवुकमार सुवेदी नागरिकका समस्या समाधान हुँदै गएको बताए । “मुख्य समस्या सडक कालोपत्रे, सडक पेटी विस्तार तथा नाली र पक्की पुल निर्माणकै थियो, अब करिबकरिब यो समस्या अन्त्य गर्दैछौं,” उनले भने, “यसै आर्थिक वर्षभित्र बाँकी सडकहरु कालोपत्रे भइसक्नेछन् ।” नगरपालिकाले विभिन्न कम्पनीमार्फत यहाँका साना ठूला ३६ वटा सडकका योजना सञ्चालन गरिरहेको छ । तीमध्ये अधिकांशको काम पुरा भइसकेको छ । सङ्घ र प्रदेश सरकारको सहयोगमा नगरपालिकाले सडक निर्माण तथा स्तरोन्नति कार्य अघि बढाएको हो ।

गत आर्थिक वर्ष कर्णाली प्रदेश सरकारले १.८ किलोमिटर र वीरेन्द्रनगर नगरपालिकाले ५०० मिटर सडक मात्रै कालोपत्रे गरेको तथ्याङ्क थियो । कछुवा गतिको विकास भन्दै यसको चौतर्फी आलोचना पनि भएको थियो । चालू आर्थिक वर्षमा भने सडक कालोपत्रेमा उल्लेख्य प्रगति हासिल गर्न नगरपालिका सफल भएको छ । निषेधाज्ञाकै अवधिमा जनस्वास्थ्यका मापदण्डको पालना गर्दै धमाधम निर्माण कार्यहरु सञ्चालन गरिएका छन् ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास निर्देशनालयले राजधानी सहरका सडक पुस दोस्रो सातादेखि निर्माण गर्न शुरु गरेको थियो । निर्देशनालयले प्रदेश राजधानी सहरी सडक निर्माण कार्यक्रम अन्तर्गत नालीसहित २६ किलोमिटर सडक निर्माण हुने जनाएको छ । जसका लागि रु. ४७ करोड बजेट खर्च हुँदैछ । निर्देशनालयका अनुसार वीरेन्द्रनगर भित्रमात्र १३.१ किलोमिटर सडकको ढाँचा परिवर्तन गर्न थालिएको छ । साँघुरो सडकलाई चौडा बनाउने, कच्ची सडकलाई पक्की बनाउने, ट्राफिक संकेतसहितका लागि आवश्यक संरचना थप्ने जस्ताकार्य भईरहेको निर्देशनालयले जनाएको छ । त्यस्तै, सङ्घीय सरकारको लगानीमा विमानस्थलदेखि गणेशचोक सम्मको सडक निर्माण चरणमा छ ।

नगर प्रमुख सुवेदी सङ्घ र प्रदेश सरकारसंगको समन्वयमा विभिन्न मुख्य सडक, विभिन्न पर्यटकीय स्थल तथा मुख्यबजारको सडक स्तरोन्नतिको काम भइरहेको बताउनुहुन्छ । विस्तारित सडकलाई हरियालीमैत्री बनाउन कार्य पनि शुरु गर्ने उनी बताउँछन् । “हामी समुन्नत नगर बनाउने अभियानमा छौँ, पहिलो प्राथमिकता नगरका सडक हुन्” नगर प्रमुख सुवेदीले भने, “नगरपालिकाको एक्लो प्रयासले मात्र सम्भव नहुने भएकोले प्रदेश र संघीय सरकारको सहयोगमा वीरेन्द्रनगरको एकिकृत विकासको कार्यक्रम अघि बढाएका हौं ।”