कोभिड-१९ विरुद्ध भुमिका खेल्न नसकेको भन्दै प्रदेश सरकार र अस्पतालविरुद्ध उच्च अदालतमा रिट


सुर्खेत : मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कर्णाली प्रदेश अस्पतालका नाममा उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ।

कोभिड–१९ रोकथाम, नियन्त्रण र व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै अधिवक्ता गणेश ओलीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन्।

कोरोना संक्रमणको दोस्रो भेरियन्ट समुदायस्तरसम्म व्यापक फैलिएर मृत्युदर उच्च भएको कर्णालीमा प्रदेश सरकार र प्रदेश अस्पतालले संक्रमण रोकथाममा लापरवाही गरिएको भन्दै रिट दायर भएको हो।

आइतबार दायर रिटमा संविधानविपरीत नागरिकको स्वास्थ्यमा खेलबाड गरिएको उल्लेख छ। कोरोना महामारी नियन्त्रणमा प्रदेश सरकार नागरिकको स्वास्थ्यमा गम्भीर नभई लाचारी बनेको जनाइएको छ।

यस्तै शुक्रबार प्रदेश अस्पताल सुर्खेतले बिरामीको चाप बढेपछि थप बिरामी नलिने सूचना जारी गरेको थियो। थाहाखबर