उनीहरू पोहोर जोशिए, यसपालि पुर्याउँदैछन् अस्पतालमा भेन्टिलेटर


नेपाल भेन्टिलेटर बैंकका सदस्यहरू बाँयाबाट क्रमशः डाक्टर सुवास आचार्य, निरञ्जन श्रेष्ठ, रामेश्वर खनाल, डा. विशाल ढकाल र दीपेन्द्र चौलागाईं। तस्बिर सौजन्यः नेपाल भेन्टिलेटर सर्भिसेस

भेन्टिलेटर आकस्मिक रूपमा मानिसको जीवन रक्षा गर्ने उपकरण हो। यो एउटा मेसिन हो।

एउटा स्वस्थ मानिसले श्वासप्रश्वास प्रक्रियामा वातावरणको अक्सिजन तानेर फोक्सोमा पुर्‍याउँछ र त्यही अक्सिजन शरीरको रगतमा मिसिन्छ। यसै क्रममा बनेको नचाहिने कार्बनडाइअक्साइड फेरि फोक्सो हुँदै नाकबाट बाहिरिन्छ।

दुर्घटना वा आकस्मिक रूपमा मान्छेको शरीरमा कहिलेकाहीँ खराबी आउँछ। यो प्रक्रियामा खराबी आउँदा अक्सिजनको कमीले कार्बनडाइअक्साइड बाहिर निकाल्न नसकेर बिरामीको श्वासप्रश्वासमा गडबडी आउन सक्छ। त्यो गडबडी शरीरले धेरै धान्न नसक्ने किसिमको हुन्छ।

यस्तो बेलामा बिरामीको फोक्सोमा अक्सिजन पुर्‍याएर कार्बनडाइअक्साइड फोक्सोबाट बाहिर निकाल्ने काम भेन्टिलेटरले गर्छ। शरिरको स्वास्थ्य प्रणालीले गर्ने काम मेसिनले गर्ने हुनाले यो जीवनरक्षक उपकरण हो।

अहिले कोरोनाभाइरसको महामारी छ। कोरोनाको मुख्य असर मानिसको श्वासप्रश्वास प्रणालीमा पर्छ। श्वास फेर्न नसकेर घिटीघिटी भएका बिरामीलाई तुरून्तै भेन्टिलेटरमा राख्न सके जीवन बच्छ।

अहिलेको महामारीको समयमा यो जीवन रक्षक मेसिन विकसित देशमा पनि पर्याप्त मात्रमा छैन। हाम्रो मुलुकमा त यसको चरम अभाव नै छ।

सरकारी अस्पताल कतिमा त भेन्टिलेटर छँदै छैनन्, भए पनि कम मात्रामा छन्। निजीमा पनि भेन्टिलेटर सेवा कम छ, जहाँ छ, निकै महंगो छ।

विपन्न व्यक्तिहरूको समस्या यही हो, सरकारी अस्पतालमा पर्याप्त छैन, निजीमा लैजाँदा महंगो। एउटा अस्पतालबाट अर्को अस्पताल पुर्‍याउँदा मानिसको ज्यान गइसकेको हुन्छ।

भेन्टिलेटरको यही अभावलाई थोरै भए पनि कसरी पूरा गर्ने?

कोरोनाको महामारीका बेला गत वर्ष यही प्रश्नले मथिंगल हल्लाएपछि केही उत्साही नागरिकले नेपाल भेन्टिलेटर सर्भिसेज कम्पनी लिमिटेडले स्थापना गरेका थिए। यो गैरनाफामुखी कम्पनी हो।

यो कम्पनीले नयाँ भेन्टिलेटर किनेर कतिपय सरकारी अस्पताललाई अहिले कोरोनाको बेला नि:शुल्क रूपमा चलाउन दिइरहेको छ भने निजी अस्पताललाई भाडामा लगाइरहेको छ। सामान्य अवस्थामा सरकारी अस्पतालले पनि शुल्क बुझाउनुपर्छ तर यो निकै सस्तो छ।

अहिले सरकारी अस्पतालमा दिनको १२ सयसम्म छ भेन्टिलेटर शुल्क।

सर्भिसेजले निजीलाई दिनको १२ सय र सरकारीलाई दिनको पाँच सय रुपैयाँमा भेन्टिलेटर सुविधा पुर्‍याउँदै आएको छ। उनीहरूले आवश्यक पर्दा मेसिन लैजान्छन्, खाली भएको आवश्यक पर्दा त्यहाँबाट अर्को अस्पतालमा पठाउनुपर्छ। भेन्टिलेटर एक अस्पतालबाट अर्को अस्पताल पुगिरहेका हुन्छन्।

सरकारीले पनि त्यसै गर्छन्, भाडा तिर्छन्। भाडा तिर्न नसक्ने अस्पताल र जनतालाई नि:शुल्क सेवा दिइन्छ।

‘हामीले यो काम पोहोर वैशाखमा सुरू गर्‍यौं। नेपालमा निजी अस्पतालमा भेन्टिलेटर महंगो छ। आवश्यक नपर्दा पनि धनीले लिइहाल्ने दिनको आठ हजार तिरेर। विपन्न वर्ग, जसलाई भेन्टिलेटरसम्म पहुँच नै छैन,’ भेन्टिलेटर सर्भिसेजका संस्थापकमध्येका एक पूर्वसचिव रामेश्वर खनाल भन्छन्, ‘न गरिबलाई पहुँच पुर्‍यायो, न धनीको हित गर्‍यो।’

त्यसैले, गैरनाफामुखी कम्पनी स्थापना गरी भेन्टिलेटरमा रहेको आमसमस्या सहजीकरण गरेर सस्तोमा सघन उपचारको सेवा पुर्‍याउन खोजिएको खनालले बताए।

अहिले कोरोना महामारीका बेला धेरै सरकारी अस्पतालले सर्भिसेजबाट प्राप्त नि:शुल्क भेन्टिलेटरले खाँचो टारिरहेका छन्।

‘बिरामीले भेन्टिलेटर खोज्दै अस्पताल खोज्ने हैन, अब भेन्टिलेटरले बिरामी खोज्छ,’ खनाल भन्छन्, ‘हामीलाई फोन आउनेबित्तिकै बिरामी भएको अस्पतालमा भेन्टिलेटर पुग्छ।’

सर्भिसेजका संस्थापकहरूमा खनाल, शिक्षण अस्पताल आइसियू विभागका प्रमख डा. सुवास आचार्य, डा. विशाल ढकाल, निरञ्जन श्रेष्ठ र दीपेन्द्र चौलागाईं छन्।

उनीहरूले कम्पनी खोलेर विभिन्न बैंकसँग ऋण लिई हालसम्म साना ठूला ६५ वटा भेन्टिलेटर किनिसकेका छन्।

तीमध्ये ६३ वटा भेन्टिलेटर निजी तथा सरकारी अस्पतालमा दिइसकिएको छ।

भेन्टिलेटरका चार प्रकार हुन्छन्।

सिपाप, बिपाप, एचएफएनसी र भेन्टिलेटर।

सिपाप र बिपाप घरमै प्रयोग गर्न सकिने पोर्टेबल भेन्टिलेटर हुन्। एचएफएनसी (हाई फ्लो नोजल क्यानुला) यसमा अक्सिजनसहितको मेसिन हुन्छ। यो पनि घरमा प्रयोग गर्न सकिन्छ।

भेन्टिलेटरचाहिँ अस्पतालमा मात्रै प्रयोग गर्न सकिन्छ। यसमा तालिमप्राप्त जनशक्ति नै चाहिन्छ। नेपालमा अहिले भेन्टिलेटरको मात्र अभाव छैन, यो चलाउन तालिम प्राप्त जनशक्तिको पनि अभाव छ।

सर्भिसेजले अहिलेसम्म २१ वटा भेन्टिलेटर, २५ वटा एचएफएनसी र बाँकी १९ वटा सिपाप र बिपाप मेसिन ल्याइसकेको छ।

‘थप २० वटा सिपाप र बिपाप यसै साता किनिसक्छौं,’ खनालले भने।

बिपाप र सिपाप मेसिनको निजी अस्पतालले दैनिक ८ सयसम्म लिने गरेका छन्। सर्भिसेजले दैनिक डेढ सय रुपैयाँमै दिने गरेको छ।

कोरोना महामारीका बेला पोहोर साल सुरूमा सर्भिसेजले शिक्षण अस्पताललाई चार वटा भेन्टिलेटर नि:शुल्क दिएको थियो।

यसपछि नेपालगञ्ज, पोखरा, वीरगञ्ज, भरतपुर, जनकपुर, दाङ, भक्तपुरको नेपाल कोरिया र भक्तपुर क्यान्सर अस्पताललाई दिएको थियो।

‘वीर र टेकुले चाहिँ हामीलाई अहिले आवश्यक छैन भनेकाले दिइएन,’ खनालले भने।

ग्राण्डी, मेडिसिटी, स्टार, किस्ट, कपनको करुणा अस्पताललगायतले अहिले भाडामा भेन्टिलेटर चलाइरहेका छन्।

नेपालको त कुरै छैन, संसारभर नै सरकारी सेवाको प्रभावकारिता उत्कृष्ट हुँदैन।

स्वास्थ्य सेवाको मामलामा नेपाल धेरै बदनाम छ। स्वास्थ्य सामग्री खरिदमै कमिसन र घुस लेनदेनका कुरा आउने गरेका छन्। यो बिडम्बनाबीच कोरोना संक्रमणका बेला यी पाँच व्यक्ति छलफलमा जुटेका थिए ‘भेन्टिलेटर बैंक’ स्थापना गर्न।

‘महामारीका बेलामा जनतालाई बचाउन हाम्रो केही दायित्व हुन्छ भनेर सस्तो र सुलभ तरिकाले भेन्टिलेटर पुर्‍याउने अवधारणा बनायौं,’ खनालले भने।

उनीहरूले कसैले डेढ लाख, कसैले चार लाख गरेर जम्मा १२ लाख जुटाए। खनालले भने आफ्नो पेन्सनको पैसा खर्च गरेका थिए।

संस्था दर्ता गरेर उनीहरू चार-पाँच वटा संस्थासँग कुराकानी अघि बढाए। उनीहरूसँग १० वटा भेन्टिलेटर उधारोमा मागे।

नभन्दै भेन्टिलेटर आए पनि। यसरी आएपछि चन्दादाता जुटे। नमागीकनै कसै-कसैले संस्थालाई सहयोग गर्न थाले।

९० लाख चन्दा उठेको थियो। उनीहरूले पचास लाख थपेर झन्डै डेढ करोड पुर्‍याए। चन्दाले मात्र उठाएको पैसाले नपुग्ने ठानेर बैंकबाट दुई करोड ऋण लिएका छन्।

यसपछि उनीहरूले ६५ वटा भेन्टिलेटर पुर्‍याए।

बैंकको ऋण कसरी तिर्ने?

खनालका अनुसार सबै सरकारी अस्पताललाई सित्तैमा भेन्टिलेटर चलाउन दिने हैन। अहिले कोभिडको बेलाचाहिँ कतिपय अस्पताललाई सित्तैमा भेन्टिलेटर दिइएको हो।

बाँकी समयमा न्यूनतम् शुल्क उठाइन्छ। निजी अस्पतालले त न्यूनतम् शुल्क तिर्नैपर्‍यो।

त्यसले बैंकको ऋण, उपकरण चलाउने जनशक्ति र उपकरण मर्मतका लागि पुगोस् भन्ने अवधारणा हो।

‘अहिलेसम्म पुगिरहेको छ, बैंकको ऋण पनि तिरिरहेका छौं,’ खनालले भने।

यो सेवा सात वटै प्रदेशमा पुर्‍याउने लक्ष्य छ। सर्भिसेजका अर्का सदस्य दीपेन्द्र चौलागाईंका अनुसार पोखरामा यसको च्याप्टर विस्तार भइसकेको छ।

‘त्यो शाखाजस्तै हो, उसलाई स्वायत्त अधिकार दिइएको छ,’ चौलागाईंले भने, ‘तीन वटा भेन्टिलेटर हामीले दिएका छौं, उहाँहरू खरिद गर्न खोज्दै हुनुहुन्छ।’

धनगढीमा गत फागुन-चैतमै च्याप्टर विस्तार गर्ने योजना थियो। तर, कोरोना संक्रमणका कारण सम्भव भएन।

‘विस्तारै अन्य सबै प्रदेशमा पुर्‍याउने हाम्रो लक्ष्य छ,’ चौलागाईंले भने।

सबै प्रदेशमा शाखा विस्तार भइसकेपछि त्यहाँबाट जिल्ला-जिल्लामा पोर्टेबल भेन्टिलेटर पुर्‍याउन सजिलो हुने चौलागाईंको बुझाइ छ।

च्याप्टरमार्फत् दुर्गम र विकट जिल्लामा सरकारी अस्पतालमा भेन्टिलेटर पुर्‍याउन नजिक हुने उनको भनाइ छ।

खनालका अनुसार यो दीर्घकालीन मोडल हो। निजीस्तरबाट यस्तो मोडलमा भेन्टिलेटर बैंक अमेरिका, बेलायत, क्यानडालगायत मुलुकमा चलाइएको छ।

अमेरिकामा एक दुई वटा नाफामूलक पनि छन्। तर, अधिकांशको मोडल गैरनाफामूलक हो।

‘निजीस्तरबाट सञ्चालन भए पनि यो नाफारहित संस्था हुन्छ, हामीले चलाउन नसकेको खण्डमा भोलि-पर्सि सरकारलाई हस्तान्तरण पनि गर्न सकिन्छ,’ खनालले भने, ‘चन्दा उठाएर सामान किनेर अलपत्र पार्न त भएन। एउटा बिन्दुमा गएर संस्था बन्द गर्नुपर्ने भयो भने सरकारलाई हस्तान्तरण गर्छौं।’

भेन्टिलेटर महंगो हुन्छ। सरकारी अस्पतालहरू माथिल्लो निकायबाट बजेट कुरेर बसिरहेका हुन्छन्। योजना भए पनि बजेटका कारण समयमा भइरहेको हुँदैन।

‘सरकारी अस्पताल आफूले किनेर राखिरहनु परेन, बिरामीलाई मर्का पनि परेन,’ खनालले भने, ‘घरमै लगेर प्रयोग गर्न पनि सकिने भयो।’

खनालका अनुसार ठूलो भेन्टिलेटर चलाउन जनशक्तिको अभाव हुने गरेको छ। यसका लागि तालिम दिने व्यवस्था पनि मिलाइने छ।

‘हामीले पोखरामा तालिम पनि दियौं मंसिरमा,’ खनालले भने, ‘सरकारी अस्पतालमा गएका बिरामी श्वासप्रश्वासको उपकरण नै नपाएर नमरून् भनेर हामीले भेन्टिलेटर पुर्‍याउने काम गरेका हौं।’

यस्तै, सर्भिसेजले अक्सिजन कन्सन्ट्रेटर पनि किन्ने योजना बनाएको छ।

कोरोना महामारीमा अक्सिजनको अभाव छ। कन्सन्ट्रेटरले अक्सिजन उत्पादन गर्ने काम गर्छ।

‘यो उपकरण खरिद गरेर चाहिएको ठाउँमा तुरून्त पुर्‍याउन सके अक्सिजनको समस्या समाधान गर्न सकिन्छ,’ खनालले भने, ‘अहिले कोरोनाको महामारीका कारण सोचेजस्तो काम गर्न सकिएको छैन, मानिसहरूसँग भेटघाट बन्द छ, फोनबाटै सबै काम पूरा गर्न सकिएको छैन।’ सेताेपाटीबाट