सूचना टाँसेर स्थगित भयो कर्णाली प्रदेशसभा बैठक, भोलि (बुधवार) २ बजे पुनः बैठक बोलाइयो


सुर्खेत। कर्णाली प्रदेशसभाको आठौँ अधिवेशनको  मंगलबारको बैठक स्थगित् भएको छ। सोमबार बोलाइएको पहिलो बैठकमा प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फौजदारी अभियोग प्रमाणित भएका कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापालाई मन्त्री पदबाट हटाउनुपर्ने माग राख्दै अवरोधका गरेको थियो ।

प्रदेशसभाका सभामुख राजबहादुर शाहीले मंगलबार दिउँसो २ वजे बैठक बोलाएका थिए । तर एमालेले  मन्त्री थापालाई बर्खास्त नगरेसम्म संसद् बैठक चल्न नदिने अडान राखेपछि मंगलबारको बैठक सुचना टाँस गरेर स्थगित गरिएको हो । एमालेले मन्त्री थापालाई बर्खास्त नगरेसम्म संसद् बैठक सञ्चालन हुन नदिने जनाएको छ । स्थगित् बैठक भोली (बुधबार) दिउँसो २ वजे बोलाइएको छ ।

मन्त्री पदमा रहने नरहने भन्ने विषयमा छलफल गर्न कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापालाई सर्वोच्च अदालतले छलफलका लागी जेठ ३० गते उपस्थित हुन आदेश जारी गरेको छ ।सरकारी कागजात किर्ते प्रमाणित भई फौजदारी सजाय पाएका मन्त्री थापाको पद बदर गर्न सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले मन्त्री पदमा रहने वा नरहने अन्तरिम आदेशको लागी छलफल गर्न जेठ ३० गते सर्वोच्च अदालत उपस्थित हुन आदेश जारी गरेको थियो।