कोभिड अस्पताललाई सुविधासम्पन्न अस्पतालका रुपमा विकास गर्दैछौं : नगर प्रमुख सुवेदी


कर्णाली प्रदेशको राजधानी रहेको नगरपालिका हो, वीरेन्द्रनगर नगरपालिका । प्रदेशकै बढी जनसंख्या भएको यो नगरपालिकामा सम्भावनासंगै चुनौतिहरु पनि उत्तिकै छन । सीमित स्रोत साधनका बाबजुत नगरपालिकाले सहरी विकासका विभिन्न योजना कार्यान्वयन गर्नु साथै कोरोना महामारीको चपेटामा परेका नगरबासीको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । नगरको समग्र स्वास्थ्य अवस्था, कोभिड १९ को रोकथाम, उपचार लगायतका विषयमा केन्द्रीत रहेर नगर प्रमुख देवकुमार सुवेदीसंग गरिएको कुराकानी :

 

वीरेन्द्रनगरमा कोभिड १९ को अवस्था के छ ?

वीरेन्द्रनगर प्रदेश राजधानी सहर भएकाले यहाँ अलि बढी समस्या छ । हाल सक्रिय संक्रमित २७५ जना छन् । उनीहरुमध्ये अधिकांश होम आइसोलेशनमै बस्नुभएको छ । गम्भीर लक्षणसहितकालाई अस्पतालमा राखिएको छ । पछिल्लो समय पुनः कोरोना संक्रमण दर बढ्न थालेपछि परीक्षणलाई पनि फराकिलो बनाइएको छ । नगरपालिकाले प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार बिहान ७ बजेदेखि र दिउँसो २ बजेदेखि कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने व्यवस्था मिलाइएको छ ।

 

कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारको तयारी कस्तो छ ?

वीरेन्द्रनगर नगरपालिकाले कोभिड १९ लाई मध्यनजर गर्दै साबिकको कटकुवा स्वास्थ्य चौकीलाई नगर कोभिड अस्पतालको रुपमा स्तरोन्नति गरी सेवा सञ्चालन गरिसकेको छ । नगरपालिका १ देखि १६ वडासम्म समुदायस्तरमा समेत कोरोना परिक्षण, संक्रमितको निगरानी, किट वितरण भइरहेको छ । कोरोनाविरुद्धका सबै खोपहरु आधारभूत स्वास्थ्य केन्द्र र नगरपालिकाको स्वास्थ्य शाखामाफर्त प्राथमिकताको आधारमा लगाइएको छ । हालसम्म क २५ हजार ५०० बढी नगरबासीलाई कोरोनाविरुद्धको खोप दिइसकेका छौं । अक्सिजन अभावलाई मध्यनजर गर्दै नगर अस्पतालमा नगरपालिकाले प्रदेश सरकार र चौधरी गु्रपको सहकार्यमा अक्सिजन प्लान्ट जडानको कार्य अघि बढाएका छौं ।

 

नगरपालिकाले गत वर्षदेखि २२ वटा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सञ्चालन गरेको छ । जुन कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । प्रत्येक वडामा पाठेघरको क्यान्सरको स्क्रिनिङ गरी एक हजार ३३५ जनालाई सेवा समेत दिइएको छ

 

कोरोनाको सम्भावित तेस्रो लहरमा झन जोखिम निम्तिन सक्ने खतरा भएकाले मास्कको प्रयोग, भीडभाड निरुत्साहन लगायतका जनचेतनामुलक क्रियाकलापहरु टोलटोलमा भइरहेका छन् । वडाका जनप्रतिनिधि, कर्मचारीहरु र टोल समितिका पदाधिकारीहरुलाई यस कार्यमा जिम्मेवारी बनाइएको छ । प्रशासनले गरेको निषेधाज्ञालाई प्रभावकारी रुपले कार्यान्वयन गर्न नगरपालिकाले साथ सहयोग गरिरहेको छ, कोभिड सेल्फ हेल्प समूहसंग सहकार्य गरेर बिरामीको उद्धार, उपचार, शव व्यवस्थापन लगायतका कार्य गरिरहेका छौं ।

 

संक्रमितको उपचारका लागि नगर अस्पताल, लाटीकोइली स्वास्थ्यचौकीलाई विशेषज्ञस्तरको सुविधा दिएर सञ्चालन गरेका छौं । अलि जटिल प्रकृतिका बिरामीलाई तत्कालै प्रदेश अस्पताल रेफर गर्ने गरिएको छ । अहिलेसम्म नगर अस्पतालबाट २१७ जना संक्रमितले सेवा लिएका छन् । संक्रमितलाई तत्काल उद्धार गर्न चौबिसै घण्टा दुई वटा एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । तीनले अहिले पनि सेवा प्रदान गरिरहेका छन् ।

नगरमा अन्य स्वास्थ्यका पूर्वाधारहरु के छन् ?

 

हामी निर्वाचित भएर आउनुभन्दा अगाडि यहाँ नगरको आफ्नै स्वास्थ्य संरचना एकदम न्यून थियो । भएका स्वास्थ्यचौकीहरु जीर्ण थिए । तीनबाट आधारभूत तहको सेवा प्रवाह भइरहेको थियो । तर अहिले चार वर्षको अवधिमा हामीले स्वास्थ्य पूर्वाधारमा ठूलो विकास गरेका छौं । कटकुवा स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरी त्यहाँ विशेषज्ञ सेवासहितको नगर अस्पताल स्थापना गरेका छौं । अहिले त्यहाँ कोभिड १९ विशेष सेवा दिइरहेका छौं । आवश्यक उपकरणहरु जडान गर्दैछौं । लाटीकोइली स्वास्थ्यचौकीमा पनि विशेषज्ञ चिकित्सकबाट बिरामीको परीक्षण र उपचार शुरु गरिएको छ । त्यहाँ पनि स्तरवृद्धि गरी अन्य स्वास्थ्य उपकरण र जनशक्तिको व्यवस्थापनलाई जोड दिएका छौं । त्यस्तै, वडा नं १, ३, ४, ५, ६, ८, १० र ११ मा सहरी स्वास्थ्य चौकीको भौतिक पूर्वाधार निर्माण गरी आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न थालिएको छ । यी सबै नयाँ बनेका भवन हुन् । त्यहाँबाट स्वास्थ्य सेवाका सबै प्रकारका कामहरु गर्न थालिएको छ ।

 

नगरपालिकाको बजेटले स्वास्थ्यसम्बन्धी के कस्ता कार्यक्रलाई सम्बोधन गरेको छ ?

नगरपालिकाले गत वर्षदेखि २२ वटा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सञ्चालन गरेको छ । जुन कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । प्रत्येक वडामा पाठेघरको क्यान्सरको स्क्रिनिङ गरी एक हजार ३३५ जनालाई सेवा समेत दिइएको छ । नगर क्षेत्रका सबै आधारभूत स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा, खोप कार्यक्रम, निशुल्क औषधि वितरण, पोषण, आमा सुरक्षा कार्यक्रम र परिवार नियोजनसम्बन्धी सेवाहरु नियमित सञ्चालन भइरहेका छन् ।

अन्तिममा केही भन्नुछ ?

स्थानीय तहको निर्वाचनमा मैंले स्वास्थ्य क्षेत्रमा अघि सारेका प्रतिवद्धताहरु अधिकांश पुरा भएका छन् । केही पुरा हुने चरणमा छन् । नगरमा १५ शैयाको अस्पताल निर्माणका लागि पहल भइरहेको छ । सहरी स्वास्थ्य चौकी नबनेका वडाहरुमा पनि चालू आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य छ । कोही पनि नगरबासीले उपचार अभावमा ज्यान गुमाउन नपरोस भनेर हामीले सजगताका साथ स्वास्थ्य संरचना, उपकरण र जनशक्तिको व्यवस्थापन गरिरहेका छौं ।