सरकारी पक्षबाट भएको हस्तक्षेपको नेपाल निजामती कर्मचारी संगठनद्धारा विरोध


नेपाल निजामति कर्मचारी संगठनले सरकारी पक्षबाट केन्द्रीय कार्यालयमा भएको धरपकडको विरोध गरेको छ । संगठनको जिल्ला समिति सुर्खेतले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सरकारी पक्षले केन्द्रीय कार्यालयमा लगाएको ताला खोली विधानसम्मत निर्वाचित पदाधिकारीलाई काम गर्ने वातावरण बनाउन आग्रह गरेको हो ।

यही असोज ४ गते दिउँसे संगठनको केन्द्रीय कार्यालय बबरमहलमा संगठनको ब्यानर, झण्डा च्यात्नुका साथै ढुंमामुढा गरेका थिए । संगठनले त्यस्तो अपराधिक कार्य गर्नेलाई कानूनी कारबाही गर्नुको साटो उल्टै संगठनका आधिकारिक पदाधिकारी, सदस्यहरुलाई पक्राउ गरी प्रहरी प्रशासनले कृत्रिम विवादको बहाना बनाई तालाबन्दी गरेको प्रति आपत्ति जनाएको छ ।

जिल्ला कार्य समितिका उपाध्यक्ष हिराकुमारी पौडेल र सचिव हेमन्त चुनाराद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, “निजामति कर्मचारीहरुले प्राप्त गर्नुपर्ने संघीय, प्रदेश र स्थानीय तहका कानून बन्न नसक्दा धेरै विषय प्रभावित भइरहेका छन्, समायोजनको समस्याबाट कर्मचारी पीडित छन्, कर्मचारीहरुको समस्या समाधान गर्नुको साटो संगठनको नाममा केही व्यक्तिहरु जालझेल गर्नैमा व्यस्त छन्, यस्तो अवस्थामा सरकारले हाम्रो अनुरोधलाई बेवास्ता गरे आन्दोलनबाट सिर्जित परिणामको जिम्मेवार स्वयं सरकार हुने स्मरण गराउन चाहन्छौं ।” ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले कर्मचारी संगठन उक्त ज्ञापनपत्र केन्द्रमा पठाउने बताए ।